
खोटाङ फागुन–२५, आम खोटाङबासी तथा देशबिदेशमा रहेका गीतसंगीतप्रेमीको चासोका बिषय बनेको गायन प्रतियागिता ‘हलेसी साईनो स्टार’को अन्तिम प्रतिस्पर्धा आज हुँदैछ । दिक्तेलबजारको सरस्वती माबिमा गायक राजेशपायल राई लगायतका चर्चित गायक–गायिक तथा गीतसंगीतका हस्तीहरुको उपस्थितीमा हुने भएपछि सबैको ध्यान त्यतै केन्द्रीत भएको छ ।
गत पुष महिनादेखि जारी गायन प्रतियोगिताको फाइनलका लागि राई ईज किङसँगै प्राज्ञ संगीतकार शान्तिराम राई, संगीतकार तथा गायक महेश खड्का, गायिका मेनुका राई तथा गायक रेवत राई, साहश राई, धर्मराज पोखरेल लगायतको टोली दिक्तेलबजार आईपुगिसकेको आयोजकले जनाएका छन् ।
कार्यक्रमका लागि मञ्च ब्यवस्थापन तथा ध्वनी संयोजन लगायत सम्पूर्ण तयारी पूरा गरिएको आयोजक साईनो कला केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक प्रमोद श्रेष्ठले सुनाउनुभयो । कार्यक्रमलाई भब्यता दिनका लागि पम्प्लेट, पोष्टर टाँस्नका साथै बजारमा माईकिङ भईरहेको छ । प्रतियोगिताको फाईनल चरणलाई जिल्लाको इतिहासमा हालसम्मकै उत्कृष्ट र भब्य बनाउने गरी तयारी गरिएको बताईएको छ । यसको लागि सबै पक्षबाट सहयोग मिलिरहेको आयोजक साईनो कला केन्द्रले जनाएका छन् ।
बिभिन्न चरण पार गर्दै अघि बढेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका प्रदिप राई, खार्मीकै बिना राई, सोही नगरपालिका १३ नुन्थलाका युवराज राई, वडा नम्वर १४ बुइपाका प्रनिशा बिक र वडा नम्वर १५ बिजयखर्कका पुष्कल राईले फाईनल प्रस्तुती दिनेछन् । यस्तै, दिपु्रुङचुईचुम्मा गाउँपालिका छोरम्बुका संग्राम राई, बराहपोखरी फाक्टाङकी रोजिना राई, बराहपोखरीकै सोम मगर, रावाबेंसी गाउँपालिका कुभिण्डेका स्काइ भरत मगर र ओखलढुंगाका पर्शु गजमेर फाईनल प्रस्तुतिका लागि तयार बनेका छन् ।
जिल्लाको १० स्थानीय तहको ११ स्थानमा अडिसन गरि १ सय १८ जना प्रतियोगीबाट फाईनलमा आएका प्रतिभाहरुलाई भोटबाट ४० र निर्णायकबाट ६० अंक प्रदान गर्ने ब्यवस्था गरिएको छ ।