खोटाङ फागुन–२४, खोटाङबासी आम संगीतप्रेमीहरुको ध्यान यतिखेर ‘हलेसी साईनो स्टार’को फाईनल प्रतिस्पर्धातर्फ मोडिएको छ । गत पुष महिनादेखि जारी गायन प्रतियोगिताको फाईनल हुने घडी नजिकिँदै जाँदा जिल्लाबासीको मनमा खुल्दुली र उत्साह एकैसाथ बढेको हो ।
शनिवार दिक्तेलबजारको सरस्वती माविको प्राङ्गणमा हुने प्रतियोगिताको फाइनलमा भर्सस्टाईल गायक राजेश पायल राई लगायतका चर्चित गायक÷गायिकाको उपस्थिती रहने भएपछि गीतसंगीतप्रेमीहरु झनै हौसिएका हु्न् । फाईनलमा राई ईज किङको उपाधी प्रप्त राईसँगै प्राज्ञ संगीतकार शान्तिराम राई, संगीतकार तथा गायक महेश खड्का, गायिका मेनुका राई तथा गायक रेवत राई लगायत स्टेज चढ्नेछन् ।
जिल्लाको १० स्थानीय तहको ११ स्थानमा अडिसन गरि १ सय १८ जना प्रतियोगीबाट फाईनलमा ११ जना प्रतिभाहरु छानिएका छन् । एक से एक लाग्ने ११ प्रतिभामध्ये को स्टार बन्ला भनने कौतुहल्ताले सबैलाई गाँजेको छ । यता, दर्शक तथा गीतसंगीतप्रेमीमा अड्कलबाजी चलिरहेको छ भने प्रतियोगीहरुलाई भोट बटुल्ने हत्तारो छ ।
पछिल्लो समय जिल्लामा हुने बिभिन्न कार्यक्रमहरुमा प्रतियोगीहरु स्वयम र प्रतियोगीका शुभचिन्तकहरु भोट बटुल्नमा दौडधुप गरिरहेको भेटिन्छन् । भोटबाट ४० र निर्णायकबाट ६० अंक निर्धारण गरी प्रतिभा छनौट गरिने ब्यवस्था गरिएपछि भोटको मात्रा बढाउन प्रतियोगीहरु बिभिन्न स्थान चाहारिरहेका छन् ।
यता, आयोजकलाई भने मञ्च ब्यवस्थापन, अतिथि सत्कार तथा ब्यवस्थापनमा भ्याईनभ्याई भएको छ । कार्यक्रमको प्रचारप्रसारदेखि स्टेज निर्माणमा रातारात खटिरहेको आयोजक साईनो कला केन्द्रका अध्यक्ष तथा कार्यक्रमका संयोजक प्रमोद श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार निर्णायक तथा बिशेष प्रस्तुति दिने कलाकार टोली काठमाण्डौंबाट हिँडिसकेका छन् ।
यस्तै, कार्यक्रमलाई भब्य बनाउन राम्रो साउण्ड सिस्टमको ब्यवस्था गर्नमा जुटेको प्राबिधिक सञ्जिप राईले सनाउनुभयो । कार्यक्रमलाई जिल्लाको इतिहासमा हालसम्मकै उत्कृष्ट र भब्य बनाउने गरी तयारी गरिएको राईको भनाई छ ।
जिल्लामा लुकेर रहेका प्रतिभालाई पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि प्राप्त गर्नेछन् । यस्तै, द्धितीयले नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफि र तृतियले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफि पाउनेछन् ।
फाईनलका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका प्रदिप राई, खार्मीकै बिना राई, सोही नगरपालिका १३ नुन्थलाका युवराज राई, वडा नम्वर १४ बुइपाका प्रनिशा बिक र वडा नम्वर १५ बिजयखर्कका पुष्कल राईले प्रतिस्पर्धा गर्दैछन् । यस्तै, दिपु्रुङचुईचुम्मा गाउँपालिका छोरम्बुका संग्राम राई, बराहपोखरी फाक्टाङकी रोजिना राई, बराहपोखरीकै सोम मगर, रावाबेंसी गाउँपालिका कुभिण्डेका स्काइ भरत मगर र ओखलढुंगाका पर्शु गजमेर फाईनलका लागि छानिएका छन् ।