खोटाङ फागुन–२१, माओबादी जनयुद्दका क्रममा गोली हानी हत्या गरिएका खोटाङका दुई शहिदको नाममा निर्माण हुने स्मृति भवन शिलन्यास गरिएको छ । जनयुद्दका क्रममा राज्य पक्षबाट हत्या गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका शहिद दिलकाजी कार्की र सोही नगरपालिका–८ चिउरीडाँडा दोर्पाका शहिद ठुलकुमार श्रेष्ठको स्मृतिमा निर्माण हुने भवनको शिलन्यास गरिएको हो ।
प्रदेश सरकारबाट बिनियोजित २० लाख बजेटबाट दिक्तेलवजारको भवन गैरामा निर्माण हुने भवनलाई शहिद सप्ताह समापनको अवसर पारेर मंगलबार बिहान शिलन्यास गरिएको हो । शहिद दिलकाजीका आमा जयन्तादेवी कार्की, शहिद ठुलकुमारका श्रीमती शान्ता श्रेष्ठ तथा प्रदेश सभासद रामकुमार राई (पासाङ)ले भवनको शिलन्यास गर्नुभएको प्रतिष्ठानका अध्यक्ष सुरेश राईले जनाउनुभयोे । साविकको नेकपा माओवादीको पार्टी कार्यालय रहेको स्थानमा प्रतिष्ठानको नाममा रहेको ६ आना जग्गामा पाँच तले भवन बन्ने अध्यक्ष राईले सुनाउनुभयो ।


तत्कालिन नेकपा माओवादीका क्षेत्रिय ब्युरो सदस्य शहिद दिलकाजी र उहाँकी धर्मपत्नी इन्दिरा कार्कीलाई २०५९ असार ३१ गते सिमपानीबाट गिरफ्तार गरी एकैदिन टुवाखोलामा हत्या गरिएको थियो । जिल्ला सदस्य ठुलकुमारलाई भने पार्टीको कामको शिलसिलामा हिडिरहेको समयमा २०५७ पुस २७ गते उदयपुरको तावाश्रीमा गोली हानी हत्या गरिएको थियो ।
तत्कालिन नेकपा माओबादीले २०५२ फागुन १ गते जनयुद्द शुरु गरेपछि पहिलो पटक हत्या भएको गोरखाका दिलबहादुर रम्तेललाई जनयुद्दका पहिलो शहिद मान्ने गरिएको छ । जनयुद्द शुरु भए लगत्तै फागुन १४ गते बिद्यार्थी रम्तेलको हत्या भएको थियो । माओवादीले सोही दिनलाई सहिद सप्ताहको पहिलो दिन र झापाका सुखानी हत्या काण्डका दिनलाई अर्थात फागुन २१ लाई सप्ताह समापनको दिन मान्दै आएका छन् ।
तत्कालिन नेकपा मालेको झापा बिद्रोहको क्रममा रत्न बान्तवा लगयात ६ जना शहिद वनेका थिए ।
शहिदहरुको सम्झना, सम्मान र चर्चा
सहिद सप्ताह समापनको अवसरमा जिल्लाका शहिदहरु दिलकाजी र ठूलकुमार लगायतलाई सम्झना गर्दै योगदानको बारेमा चर्चा गरिएको छ । जिल्ला समन्वय समितिको हलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सांसद रामकुमार राई(पासाङ), नेपाल कम्यनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सभाषद्द्वय समीता कार्की(अस्मिता) र दुर्गाजयन्ती राईले शहिदहरुको योगदानको चर्चा गर्नुभयो । जिल्ला समन्वय समितिका जनप्रतिनिधि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल लगायतका जनप्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा राजनीतक दलका नेताहरुको सहभागिता रहेको थियो ।
पूर्ब माओवादी केन्द्रका जिल्ला ईन्चार्ज धु्रव बुढाथोकी(धिरेन), नेकपा एमालेका जिल्ला उपाध्यक्ष राम दंगाल, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष टंक थापा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिणदेवी राई लगायतले शहिदहरुको योगदानवारे चर्चा गर्नुभयो । यस्तै, शहिदहरुको सम्झना तथा सममानमा केही कविता समेत प्रस्तुत भएको प्रतिष्ठानका महासचिब बम बानियाँले जानकारी दिनुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था, जिल्लाका बिभिन्न प्रतिष्ठान, शिक्षक संगठन्, कर्मचारी संगठन, विभिन्न जनबर्गीय संगठन आदिका नेतृत्हरुको समेत उपस्थिती थियो ।