खोटाङ फागुन–१९, निर्बिवाद तथा ऐतिहासिक रुपले जारी गायन प्रतियोगिता ‘हलेसी साईनो स्टार’को फाईनलमा भर्सस्टाईल गायक राजेश पायल राई लगायतका चर्चित गायक÷गायिकाको उपस्थिती रहने भएको छ । गत पुष महिनादेखि खोटाङमा जारी प्रतियोगितको फाईनलमा राई ईज किङको उपाधी पाउने राई लगायत प्राज्ञ संगीतकार शान्तिराम राई, संगीतकार तथा गायक महेश खड्का लगायतको प्रस्तुति रहने जनाईएको छ ।
आगामी फागुन २५ गते शनिबार दिक्तेलबजारको सरस्वति माविको प्रांगणमा हुने बृहत एकल गायन प्रतियोगिताको फाईनलमा गायक राईको विशेष प्रस्तुति रहने आयोजक साईनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले वताउनुभयो । यस्तै, संगीतकार तथा गायक शान्तिराम र खड्का तथा गायिका मेनुका राई निर्णयकको भूमिकामा रहने कार्यक्रमका संयोजक समेत रहनुभएको श्रेष्ठले सुनाउनुभयो । गीतसंगीतको क्षेत्रमा राज गरिरहेका हस्तीहरु जिल्ला आउने भएपछि गीतसंगीतप्रेमीहरु उत्साहित बनेका छन् ।
झन्–झन् भब्य बन्दै आएको प्रतिभाको फाईनलका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारीलाई प्रमुख अतिथि ल्याउने टुंगो भईसकेको थियो । तथापी अधिकारीको हेलिकोप्टर दुर्घटनामा दुःखद निधन भयो ।
जिल्लाको १० स्थानीय तहको ११ स्थानमा अडिसन गरि १ सय १८ जना प्रतियोगीबाट फाईनलमा ११ जना प्रतिभाहरु छानिएका छन् । भोटबाट ४० र निर्णायकबाट ६० अंक निर्धारण गरी प्रतिभा छनौट गरिने ब्यवस्था गरिएको छ । जिल्लामा लुकेर रहेका प्रतिभालाई पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि प्राप्त गर्नेछन् । यस्तै, द्धितीयले नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफि र तृतियले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफि पाउनेछन् ।
फाईनलका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका प्रदिप राई, खार्मीकै बिना राई, सोही नगरपालिका १३ नुन्थलाका युवराज राई, वडा नम्वर १४ बुइपाका प्रनिशा बिक र वडा नम्वर १५ बिजयखर्कका पुष्कल राईले प्रतिस्पर्धा गर्दैछन् । यस्तै, दिपु्रुङचुईचुम्मा गाउँपालिका छोरम्बुका संग्राम राई, बराहपोखरी फाक्टाङकी रोजिना राई, बराहपोखरीकै सोम मगर, रावाबेंसी गाउँपालिका कुभिण्डेका स्काइ भरत मगर र ओखलढुंगाका पर्शु गजमेर फाईनलका लागि छानिएका छन् ।