राताम्य गुराँसमाथि सेताम्य हिँउ झर्दा : फोटो र भिडियो पनि हेर्नुहोस्,

रामधन राई/खोटाङ,
फागुन–१६, हेलिकोप्टर दुर्घटनाको शोकमा सरकारले अघिल्लो दिन नै विहिवारको लागि सार्वजानिक विदा गर्ने निर्णय गरेसँगै खोटाङवासीको कार्यतालिकामा फेरवदल आएका थिए । विशेषगरी दिक्तेलवजारवासी शिक्षक, विद्यार्र्थी, कर्मचारी आदिले विदालाई सदुपयोग गर्ने आ–आफ्ना योजना वनाई सकेका थिए । आकस्मिक पाएको विदाको योजना कार्यान्वायन नहुँदै अर्को योजना त्यति वेला तुरुन्तै वन्यो, जव एकाविहानै मेघ गर्जन सहितको वर्षा भयो ।
वर्षाले त्यति ठूलो महत्व राखेन । तर वर्षा रोकिए लगत्तै मज्जाले खुलेको दिन अनि दृश्यहरुले विशेषगरी दिक्तेलवजारवासीको फरक–फरक योजनालाई एउटैमा परिणत गरिदियो । सफा मौसमसँगै रुपाकोट, टेम्के लगायत आसपासका डाडाँहरु सेताम्मे हिउँले लिपिएको देखियो । माथि–माथि राताम्य गुराँस अनि मूनि–मूनि आँखै टल्काउने हिउँ देखेपछि दिक्तेलवजारवासीको मन त्यतै लोभियो । विशेषगरी नजिक र रमणीय स्थल रुपाकोटतर्फ सवैको मन सोझियो । अनि यात्रा पनि त्यतै । वस, जीप, मोटरसाईकल र पैदल यात्रीहरुको उकालो यात्रामा लस्कर देख्दा यस्तो लाग्थ्यो की पूर्व योजनासहितको भव्य हिउँ महोत्सव भईरहेको छ ।
के केटाकेटी, के युवायुवती, के वुढापाका ? सवै लागे हिउँ फूलेको देशतिर । गुराँस मुस्कुराएको भेगतिर । रमाए दिनैभरि साथीसंगातीसँग, खेले मज्जाले हिउँसँग अनि फर्किए गुराँसका रहर लाग्दा गुच्छाहरुसँग । हिउँ खेल्ने वहानामा साटे मायाँ, साँचे सम्झना । ओह्रालो लाग्दै गर्दा समेत हिउँको रौनककै विषयमा कुरा चलिरहेको सुनिन्थ्यो । जवाफको एकिन भएर पनि सवैले एउटै प्रश्न गर्थे ‘रमाईलो भयो हगी ?’ ३३ वर्षपछि जिल्लामा उस्तरी हिउँ परेको वुढापाका सुनाउँछन् । अतः प्रकृतिले जुराईदिएको संयोगमा सवै रमाए ।


खोटाङको पर्यटकीयस्थल रुपाकोटको तल्लो क्षेत्रसम्म भारी हिउँ परेपछि हिउँ खेल्ने स्थानीयको भीड लागेको छ । बिहिबार बिहानको वर्षासँगै हिउँ परे लगत्तै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार र सो आसपासका स्थानीय हिउँ खेल्न रुपाकोट क्षेत्र पुगेका हुन् । करिव ३३ वर्ष अघि मात्र हिउँ परेको सो क्षेत्रमा वाक्लो हिउँ परेपछि हेर्ने र खेल्नका लागि बस, जीप र मोटरसाईकल प्रयोग गरेर स्थानीय सो क्षेत्र पुगेका थिए । कतिपय स्थानीय भने पैदल हिँडेर हिउँ परेको डाँडामा पुगेका थिए ।
डाँडापाखा, चौंर, जंगल, बारी ढाकेको हिउँमा स्थानीय रमाईलो मान्दै डुलघुम गरेका छन् । सेताम्मे हिउँले ढाकेको रुपाकोट क्षेत्रमा पुगेका स्थानीय आपसमा हिउँले हानाहान गर्दै रमाईलो गरेका छन् । सार्वजनिक बिदा भएका कारण विद्यार्थी, शिक्षक तथा कर्मचारीको समेत मुढेमा भीड देखिएको थियो । जिल्लामा हत्तपत्त हिउँ नपर्ने भएकाले स्थानीय मौका छोपेर हिउँ खेल्न डाँडामा पुगेका हुन् ।
२०४२ सालपछि एकैचोटी गत माघ १५ गते साँझ हिउँ परेको रुपाकोट क्षेत्रमा बिहिबार बिहान पुनः हिउँ परेको हो । बाक्लो हिउँ पर्दा रुपाकोट, मुढे, हुर्लुङ, चखेवा भञ्ज्याङ, टेम्के, स्याल्मे, छितापोखरी, मुलडाँडा, चुम्लुङ, रोक्सिङभञ्ज्याङ, ऐसेलुखर्क लगायतका माथिल्लो क्षेत्र सेताम्मे भएका छन् । रुखो र नाङ्गो डाँडा अहिले हिमालजस्तै देखिएको छ । हिउँ पर्दा आलु, गहुँ लगायतका बाली नाली सप्रिने आशामा किसान उत्साहित छन् ।


जिल्लाका वालवालिकाले पहिलो पटक प्रत्यक्ष हिउँ हेर्ने र खेल्ने मौका पाएको अभिभावकहरुले वताएका छन् ।
रुपाकोट क्षेत्रमा मात्र ४ हजारको सेरोफेरोले हिउँमा रमाएको अनुमान गरिएको स्थानीय सुनाउँछन् । यससँगै जिल्लाको चखेवा, टेम्के, देउराली लगायतका उच्च भेगमा वाक्लो हिउँ परेका छन् ।

https://youtu.be/oFC6tB67fqk