काठमाडौं । २०७५ साल फागुन १५ गते बुधबारको दिन बिहानैदेखि आकाश धुम्मिएको थियो । कतै बादल, कतै पानी अनि कतै हिउँ परिरहेको यहीँ दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका छन् ।

दिउँसो करिब १२ः४० मा ताप्लेजुङताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० मा पर्ने फुरम्बु दारेढुंगा सिस्नेभीर क्षेत्रमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा उनीहरुको निधन भएको हो । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्रीसहितको टोली पाथिभरा दर्शनमा लागि गएको थियो । मन्त्रीसहितको टोली सवार हेलिकप्टर पाथीभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा दुर्घटना भएको हो ।

भिडियो

हेलि दुर्घटना भएको स्थान भिरालो र जंगलमा पर्दछ । हेलि दुर्घटनाको समयमा त्यस स्थान वरिपरी हिउँ र वर्षा समेत भईरहेको थियो । हेलिकप्टरमा मन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया र पाइलट प्रभाकर केसी सवार थिए ।