खोटाङ, १९ फागुन । खोटाङको लामीडाँडा गाउँपालिकालाई यथावत कायम गर्ने माग राख्दै कांग्रेस पार्टी कार्यालय सानेपामा आमरण अनसन सुरु भएको छ । 
लामिडाँडा, खार्पा, कुभिन्डे, हौचुर, दुबेकोल र डुम्रेधारापानी गाबिसलाई समेटेर प्रस्ताव गरिएको गाउँपालिकालाई कायम गर्नुपर्ने पक्षमा कांग्रेस पार्टीमा दवाव सिर्जना गर्न लामीडाँडा संरक्षण समितिका फटिक श्रेष्ठ र डा. राजकुमार राईले बिहिबारदेखि कांग्रेस पार्टी कार्यालयमा आमरण अनसन सुरु गरेका हुन् । 
खोटाङबाट हलेसी तुवाचुङ र रुपाकोट मझुवागढी नगरपालिका तथा महुरेगढी, ऐसेलुखर्क, केपिलासगढी, जन्तेढुंगा, खोटेहाङ, दिप्रुङ, साकेला र बराहपोखरी गाउँपालिका बनाउन प्रस्ताव गरिएकामा स्थानीय तह पुनःसंरचना आयोगले महुरेगढीलाई खारेज गरेर लामीडाँडा गाउँपालिका बनाउन सरकार समक्ष सिफारिस गरेको थियो । खारेज भएको महुरेगढी गाउँपालिकालाई पुःन स्थापित गराउनेपक्षमा संघर्षका कार्यक्रम भइरहेकाबेलामा लामीडाँडा गाउँपालिकालाई कायम गर्नेपक्षमा पनि आन्दोलन भइरहेका छन् । 
लामीडाँडा गाउँपालिकालाई कायम गर्नुपर्नेमा एकैसाथ राजधानीमा आमरण अनसन तथा लामिडाँडा, खार्पा, कुभिन्डे, हौचुर, दुबेकोल र डुम्रेधारापानी गाबिसमा बिहिबारदेखि शिक्षणसंस्था, यातायात, सरकारी तथा गैर–सरकारी कार्यालय बन्द आव्हान गरिएको छ । लामीडाँडा बनाउने आयोगको सिफारिसप्रति लामीडाँडा, खार्पा, दुबेकोल, डुम्रेधारापानी लगायतका स्थानीय हर्षित छन् भने महुरेगढी गाउँपालिकामा समाबेश बुईपा, राजापानी, बिजयखर्क, नुनथला लगायतका स्थानीय आक्रोशित छन् । ‘लामीडाँडा गाउँपालिकालाई जोगाएर कायम गर्नका लागि राजधानी र गाउँमा एकैसाथ आन्दोलन थालेका हौँ,’ अनसनमा बसेका श्रेष्ठले भने, ‘कांग्रेसका नेतालाई गाउँपालिकाको विषयमा ध्यानाकर्षणका लागि पार्टी कार्यालयमै आमरण अनसन सुरु गरिएको हो ।’ 
लामीडाँडा गाउँपालिकालाई यथावत कायम गर्न काठ्माण्डौंमा पोकल गुरुङको संयोजकत्वमा ४३ सदस्यीय ‘लामीडाँडा गाउँपालिका संरक्षण समिति’ गठन गरिएको छ । प्रस्ताबित खाकाका बिषयलाई लिएर स्थानीय पक्ष÷बिपक्षमा उभिएपछि स्थानीय तहको कार्यान्वयन पेचिलो बनेको छ । दुबै पक्ष अहिले आ–आफ्नो गाउँपालिकालाई सुनिश्चित गर्न शक्ती प्रयोगमा उत्रिएका छन् । स्थानीय तह पुनःसंरचना आयोगले खोटाङबाट सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई परिबर्तन गरेर लामीडाँडा गाउँपालिका बनाइएको बिरोधमा बुईपा, राजापानी, बिजयखर्क र नुनथलाका स्थानीयले सोमबारदेखि सो क्षेत्रका सरकारी तथा गैर–सरकारी कार्यालय तथा मध्यपहाडी लोकमार्ग ठप्प पारेका छन् ।