
खोटाङ फागुन–१५, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले जिल्लामै पहिलो पटक गाउँ प्रहरी भर्ना गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए अनुसार गाउँपालिकामा तीन जना गाउँ प्रहरी भर्ना गरिएको गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले वताउनुभयो ।
शान्ति सुव्यवस्था र अमन चयन कायम गर्दै नीति नियमलाई प्रभावकारी कार्यान्यवनका लागि गाउँ प्रहरी भर्ना गरिएको गाउँपालिका प्रमुख निरौलाको भनाई छ । दैनिक कार्य सम्पादनका क्रममा परिचालन गर्ने गरी भर्ना भएका गाउँ प्रहरीलाई बुधबार नियुक्ती दिएर सुरक्षामा खटाइएको छ । ७ वटा वडा रहेको पालिकाका गाउँ प्रहरीलाई जनही १२ हजार रुपैंयाँ तलवको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
कालो टोपी, सेटो सर्ट, निलो पाईन्ट र कम्मरमा कुखुरी भिरेका गाउँ प्रहरीलाई शपथ खुवाएर कार्यक्षेत्रमा खटाइएको जनाईएको छ । गाउँ प्रहरीका लागि गाउँपालिकाभित्रका १७ जनाको आवेदन परेको थियो ।