खोटाङ, २१ फागुन । खोटाङको माक्पास्थित भीर गाउँ सामुदायीक बनमा भीषण डढेलो लागेको छ ।
माक्पा–७ र ८ स्थित भीरगाउँ सामुदायीक बनमा शुक्रबार दिउँसो सुरु भएको भिषण डढेलो नियन्त्रण बाहिर गएको स्थानीय भानु निमाबि लेवाका प्रअ डिल्लीकेशर भण्डारीले बताउनुभयो । ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरी र स्थानीयले अग्नी रेखा बनाएर नियन्त्रणको प्रयास गरिरहेका भएपनि डढेलो नियन्त्रणमा आउन सकेको छैन ।
हावाहुरी कारण डढेलो फैलिएर नियन्त्रणमा लिन नसकिएको स्थानीय बताएका छन् । डढेलोबाट माक्पा–७ र ८ का बस्ती आगलागीको उच्च जोखिममा परेको छ । डढेलोले स्थानीय बञ्चरे खोला पार गरे माक्पा–१, २, ४ र ५ वडाका बस्ती समेत जोखिममा पर्ने प्रअ भण्डारीले बताउनुभयो । करिब सय हेक्टर क्षेत्रफलमा फैलिएको जंगलमा दुई वर्षअघि पनि भीषण डढेलो लागेको थियो ।