खोटाङ फागुन–१३, खोटाङको खार्मी, पाथेका र नेर्पाको सिमास्थलमा पर्ने रमणीय बगरेभञ्ज्याङमा कृतिम ताल निर्माण सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, ११ र १२ नम्वर वडाको सिमास्थित करिव १८ सय मिटरको उचाईमा कृतिम ताल निर्माण सुरु गरिएको हो ।
जिल्लाको पर्यटन प्रवद्र्दनमा सघाउ पुग्ने अपेक्षा सहित नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा १ सय ८० मिटर लम्बाई र १ सय ५० मिटर चौडाईको ताल निर्माण सुरु गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष भोगेन राईले जानकारी दिनुभयो ।
नगरपालिकाको दुई करोड ५७ लाखको लागतमा निर्माण शुरु गरिएको ताल तीन वर्षभित्र सम्पन्न गरिने जनाईएको छ । नगरपालिकाको क्रमागत योजना अन्तरगत यस आर्थिक वर्षमा ५४ लाख बजेटबाट काम शुरु गरिएको अध्यक्ष राईले जनाउनुभयो ।
वर्षाद्को पानी जम्मा गरेर बनाइने पोखरीमा अहिले पर्खाल लगाउने काम भइरहेको छ । करीब दश मिटर उचाईको पर्खाल निर्माण गरेर बनाइने पोखरीभित्र करीब सात मिटर गहिराईसम्म पानी जम्मा हुने जनाइएको छ ।
पोखरी आसपासमा ट्रष्टहरु समेत निर्माण गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।
चारैतिर घना जङ्गल रहेको उक्त ठाउँमा निर्माणाधीन पोखरीमा डुङ्गा सयर गर्न मिल्नेगरी संरचना बनाइने नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । पर्यटकीय क्षेत्रको सम्भावना बोकेको उक्त स्थानको प्रवद्र्धनमा नगरपालिकाले दीर्घकालीन योजना बनाएर काम थालेको वताईएको छ । पोखरी अर्थात तालले पर्यटन प्रवद्र्धनसँगै आर्थिक उन्नतिमा समेत सघाउ पुग्ने नगरपालिकाले जनाएको छ ।
मध्यपहाडी लोकमार्गमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको शिरमा पर्ने बगरेभञ्ज्याङसम्म पुग्न दूधकुण्डबाट पदमार्ग निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ । सदरमुकाम दिक्तेलबाट करीब नौं किलोमिटर टाढा रहेको बगरेभञ्ज्याङलाई वनभोजस्थलका रुपमा विकास गर्ने योजना बनाइएको छ ।
पोखरी निर्माण सम्पन्न भएपछि आसपासमा पानीको स्रोत समेत वृद्धि हुने अपेक्षा गरिएको छ । निर्माणाधीन पोखरी आसपास ठूला चउर तथा खर्कहरु समेत रहेको छ ।
बगरेभञ्ज्याङ आसपास लालीगुँरास, चाँप, सुनाखरी लगायतका फूल पाइन्छ । मृग, हरिण, घोरल, खरायो लगायत जङ्गली जनावर भेटिने बगरेभञ्ज्याङ आसपास पर्ने डाँडाखर्क खिसापत्रे सामुदायिक वनमा कालिज, प्युरा, मलेवा, ढुकुर जस्ता चराचुङ्गी देख्न पाइन्छ ।
निर्माणाधीन पोखरीबाट पर्यटकीयस्थल रुपाकोट, मेरुङ, रमितेडाँडा लगायतका ठाउँ जाने पदमार्ग निर्माण गरिने योजना बनाइएको छ ।