कृषिलाई चासो दिन गाउँपालिकालाई सुझाव : खास कृषकले अनुदान नपाएको गुनासो

खोटाङ फागुन–१३, खोटाङस्थित केपिलासगढी गाउँपालिकाले कृषि क्षेत्रमा विनियोजन गरेको अनुदान वजेट खास कृषकले नपाएको गुनासो गरेका छन् । गाउँपालिकावाट प्राप्त हुने कृषि तथा पशुपालन लगायतका अनुदान कृषि पेशामै स्वरोजगार वनिरहेको कृषकलाई नदिई अन्यलाई प्रदान गरिएको स्थानीयको गुनासो छ ।
गाउँपालिकाका केही युवाहरुले कृषि तथा पशुपालन व्यवसायमा नमुना तथा उदाहरणीय काम गरिरहेको भए पनि गाउँपालिकाको अनुदानवाट वञ्चित हुनु परेको स्थानीय गुरुराज राईको गुनासो छ । आर्थिक वर्ष २०७५/७६ को वजेट तथा कार्यक्रमको सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले गाउँपालिकाले कृषि क्षेत्रलाई चासो दिँदै खास कृषकलाई सहयोग गर्न सुझाव दिएका छन् ।
कृषि तथा पशुपालनमा वजेट विनियोजन गर्न कञ्जुस्याँई नगर्न सुझाव दिएका स्थानीयले किसानलाई उन्नत जातको वीउविजन खरिदको लागि वजेट विनियोजन गर्न गाउँपालिकासँग आग्रह गरेका छन् । राज्यले कृषिलाई आधुनिकीकरण गर्ने नीति ल्याए पनि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले कृषि क्षेत्रको विकासमा चासो नदेखाएको स्थानीयको गुनासो रहेका छन् । गाउँपालिकाको सभाहलमा सम्पन्न सार्वजानिक सुनुवाई कार्यक्रममा पशु सेवा विभागवाट वितरण गरिएको वोका तथा कुखुरा वितरण कार्यमा पारदर्शीता नपाईएको समेत गुनासो गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हीरादेवी वन गिरी, प्रमुख प्रशासकीय अधिकृत छविलाल राई, राजनीतिक दलका नेता, वडाध्यक्ष लगायतका सरोकारवाला पक्ष सहभागी वनेको सार्वजानिक सुनुवाई कार्यक्रमका सहजीकरण जिल्लाका पत्रकारहरुले गरेका थिए । कार्यक्रममा वडा–वडामा नियमित अनुगमन गर्नुपर्ने, वडामा भईरहेका विकास निर्माण लगायतका योजनाहरुलाई पारदर्शी वनाउन गाउँपालिकाले ध्यान दिनुपर्ने लगायतको सुझाव स्थानीयले दिएका थिए । मध्यावधीको सार्वजानिक सुनुवाईमा सहभागी वनेका स्थानीयले गाउँपालिकाभित्रका शिक्षा, स्वास्थ्य, सञ्चार अर्थात ईमेल, ईन्टरनेट, एम्वुलेन्स लगायतको प्रभावकारी सेवामा गाउँपालिकाले चासो दिनुपर्ने सुझवा दिएका छन् ।
यस आर्थिक वर्षमा १० लाख रुपैंयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिकाले हालसम्म १ लाख रुपैंयाँ पनि संकलन गर्न नसकेको सवाल समेत सहभागीले उठाएका थिए । अलैंची लगायतका उत्पादन तथा अन्य क्षेत्रवाट आन्तरिक राजस्वको प्रशस्त सम्भावना भएको भन्दै त्यसको व्यवस्थापन गर्न स्थानीयले आग्रह गरेका छन् ।
प्रमुख जवाफदेही व्यक्तिको रुपमा रहनुभएको अध्यक्ष कृष्णकुमार राईले सहभागीले दिएका सुझावहरुलाई मनन् गरी अघि वढ्ने जनाउनुभयो । उहाँले सहभागीले उठाएका कतिपय सवालहरु अति सही रहेको प्रतिक्रिया दिँदै त्यसको सुधारमा सवै मिलेर अघि वढ्नुपर्ने धारणा राख्नुभयो । वडासँग सम्वन्धित सवालहरुको लागि वडाध्यक्षसँगै समन्वय गर्ने वताउनुभएको अध्यक्ष राईले स्थानीयको आवश्यक्ताका आधारमा नै विकास निर्माण लगायतका अन्य योजनाहरु अघि सारिएको जनाउनुभयो ।
गाउँपालिकामा यो आर्थिक वर्ष चालु तथा पुँजीगत वजेट २६ करोड ५४ लाख ३ हजार रहेको थियो । यस आर्थिक वर्ष गाउँपालिकाको ५९ योजनामध्ये ३५ योजनाको फस्र्योट भएको जनाईएको छ । सात वटा वडा रहेको गाउँपालिकाका १ नम्वर वडामा ४० मध्ये २५ योजना फस्र्योट भएका छन् ।
यस्तै, क्रमशः २,३,४ र ५ नम्वर वडामा २९ मध्ये ८, ४५ मध्ये १५, ४५ मा १३ र २८ योजनामध्ये ६ वटा योजना फस्र्योट भएको वताईएको छ । वडा नम्वर ६ मा १९ योजना रहेकोमा कुनै पनि योजना फस्र्योट नभएको जनाईएको छ । ७ नम्वर वडामा २७ योजनामध्ये २ वटा योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकतामा राखेको छ ।