खोटाङ फागुन–८, खोटाङको साकेला गाउँपालिकास्थित रतन्छामा पहिलो पटक डिप्लोमा तहको बाली विज्ञान विषयको पढाइ शुरु गरिएको छ । शिक्षा मन्त्रालय अन्र्तगतको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् भक्तपुरले साकेला माध्यमिक विद्यालयलाई तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषयको अध्यापन गराउन अनुमति दिएपछि पढाइ शुरु गरिएकोे हो ।

डिप्लोमा तीन वर्षे कार्यक्रम अन्तरगत बाली विज्ञान विषयको कक्षा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभयो । सोही विषयको कक्षा सञ्चालन गर्नका लागि निर्माण गर्न लागिएको विद्यालय भवन समेत शिालान्यास गरिएको छ ।

प्रतिनिधिसभा सदस्य भट्टराईको संसदीय विकासकोषको ५० लाख रुपैंयाँ रकमबाट निर्माण हुने भवन दुई तलामा आठ कोठा हुने प्रधानाध्यापक शिवेन्द्रकुमार राईले बताउनुभयो । निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिने उक्त बाली विज्ञान विषयको पढाइ हुने विद्यालय भवनको निर्माण कार्यसमेत थालिएको जनाइएको छ ।

सरकारको आगामी दुई वर्षभित्र प्रत्येक स्थानीय तहमा सिटिईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने नीति लिएको छ । सोही नीति अनुसार स्थानीय सरकारको अनुमतिसहित आवेदन प्राप्त भएका र सम्बन्धित विषय विज्ञबाट पूर्वाधार निरीक्षण हुँदा सबै पूर्वाधार पूरा गरेका सामुदायिक विद्यालयलाई शैक्षिक सत्र २०७५ र ०७६ देखि गुणस्तरीय प्रशिक्षण गराउने शर्तमा अनुमति दिएको परिषद्ले जनाएको छ ।