खोटाङ, फागुन २२ । तीन हप्ता बित्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रिता तामाङको हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेपछि मानव अधिकार आयोगको टोली अनुसन्धानमा लागेको छ ।
गत माघ २६ गते बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी किशोरीको हत्यामा संलग्न दोषीलाई प्रहरीले हालसम्म पत्ता लगाउन नसकेको भन्दै अन्तरपार्टी महिला सञ्जालले ध्यानाकर्षण गराएको केही दिनपछि राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले आफै अनुसन्धान सुरु गरेको हो । सदरमुकाम दिक्तेलबाट शनिबार घट्नास्थल प्रस्थान गरेको आयोगका प्रतिनिधि अम्बीका घिमिरे र लोकनाथ घिमिरेले आईतबारदेखि अनुसन्धान सुरु गरेका हुन् ।
घटनाको बिषयमा अनुसन्धानका लागि २÷३ दिन घट्नास्थलमा बसेर अनुसन्धान गर्ने आयोगका प्रतिनिधि लोकनाथ घिमिरेले बताए । ‘लामो समयसम्म प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन भन्ने गुनासो आइरहेको छ,’ घिमिरेले भने, ‘हामी आफ्नै तरिकाले यसको अनुसन्धान गर्छौँ ।’
किशोरीको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै लिच्कीराम्चेका महिलाले मौन जुलुस र दवावमुलक जुलुस निकालेको केही दिनपछि सञ्जालले फागुन १७ गते आयोगको ध्यानाकर्षण गराएको थियो । हत्या भएको तीन हप्ता बित्दा समेत प्रहरीले दोषी पत्ता लगाउन नसकेकाले दोषी पत्ता लगाउनका लागि दवाव सिर्जना गर्न आयोगलाई गुहार्नु परेको सञ्जालकी अध्यक्ष दुर्गाजयन्ती राईले बताईन् । लामो समयसम्म दोषी पत्ता लगाउन नसकेको भन्दै जिल्लामा प्रहरी र प्रशासनको आलोचना आलोचना सुरु भएको छ ।
घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिता घर नआएपछि खोजी गर्नेक्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा मृत भेटिएकी थिईन् ।
घट्नाको अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधान आफै टोली लिएर घट्नास्थल पुगेर फर्किए पनि दोषी पहिचान हुन सकेको छैन । रितासँग बारम्बार फोन सम्पर्कमा रहेका, भेटघाट गरिरहने र फोनबाट धम्क्याउने गरेको सुचनाका आधारमा शंकास्पद व्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भए पनि दोषी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
अपराधी पत्ता नलाग्दा हुने गम्भीर सामाजिक र मनोवैज्ञानिक अशरप्रति प्रहरी र प्रशासन सचेत हुनुपर्ने आफन्त रमेश गाउँलेले बताए ।