फागुन–७, नेपालमा दर्ता नगरे वा कार्यालय नखोले सरकारले फेसबुक र ट्वीटर बन्द गर्ने चेतावनी दिएको छ । सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको आग्रह अनुसार गृह मन्त्रालयले फेसवुक र ट्वीटरको अमेरिकास्थित मुख्यालयलाई पत्राचार गर्दै त्यस्तो चेतावनी दिएको हो ।

नेपालमा दर्ता गरेर कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने पत्रमा उल्लेख छ । सामाजिक सञ्जालको अयिनंत्रित प्रयोगले नेपालमा अपराध बढेको र शान्ति सुरक्षामा खलल परेको भन्दै नेपालको कानून अनुसार दर्ता नगरे वा कार्यालय नखोले बन्द गर्ने चेतावनी दिएको हो ।

सरकारले गत विहीबार नै संसदमा सामाजिक सञ्जाल सञ्चालन गर्न नेपालमै दर्ता हुनु पर्ने प्रावधानसहितको सूचनाप्रविधि सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७५ दर्ता गराएको छ । विद्युतीय कारोवार ऐनलाई खारेज गरी नयाँ कानून बनाउने उद्देश्यसहित ल्याएको विधेयकमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले नेपालको सरकारी निकायमा दर्ता हुनुपर्ने उल्लेख गरिएको छ ।

विधेयक जस्ताको त्यस्तै पारित भएमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु बन्द गर्नु पर्ने अवस्था आउन सक्छ । विधेयक पारित भएर कानून बनेपछि सरकारले चाहे अनुसार सामाजिक सञ्जाल नियन्त्रण गर्न सक्छ । कुनै सम्प्रेषित सूचना वा विषयवस्तु हटाउन सञ्चालकलाई निर्देशन दिनसक्छ । नयाँ प्रस्ताव गरिएको कानूनमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख जरिवाना र ५ वर्ष कैद सजाय हुने प्रावधान राखिएको छ ।
मार्क जुकरर्वर्ग र ज्याक डोर्सी जस्ता सामाजिक सञ्जाल सञ्चालकहरु नेपाल आएर दर्ता अनुमति माग्लान वा फेसबुक,ट्विटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल बन्द होलान ?