खोटाङ फागुन–५, आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्र्तगत प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट भएका खोटाङका सितोरियो कराते खेलाडीको टोलीलाई विदाई गरिएको छ । मोरङको विराटनगरमा आगामी फागुन–७ गतेदेखि सुरु हुने प्रदेश स्तरीय छनौट प्रतियोगिताका लागि जिल्लावाट छानिएक १८ जना खेलाडीको टोलीलाई आईतवार गरिएको हो ।
दिक्तेलको माटिकोरेस्थित कभर्ड हलमा नेपाल सितोरियो कराते संघ खोटाङले आयोजना गरेको कार्यक्रममा पुरुष टिम काँता, महिला टिम काँता तथा कुमितेका खेलाडी शुभकामना सहित विदाई गरिएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले वताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल लगायतका उपस्थितीमा सम्पन्न विदाई तथा शुभकामना कार्यक्रममा खेलाडीहरुले काँता तथा वुङ्कायो समेत प्रस्तुत गरेका थिए ।
प्रदेशस्तरीय प्रतियोगिताका लागि महिला एकल काँतातर्फ रोश्मा राई तथा पुरुष एकल काँतातर्फ मोतिचन्द्र राई छनौटमा परेका छन् । यस्तै, महिला टिम कातातर्फ रोश्मा राई, विद्याकला राई र नन्जु राई रहेका छन् । मोतिचन्द्र राई, अर्जुन श्रेष्ठ र रुरिहाङ दुमी राईले पुरुष टिम काँतामा जिल्लावाट भिड्ने जनाईएको छ ।
कुमितेतर्फ ४५ केजी तौल समुहमा डुनु राई , ५० केजीमा समिता राई, ५५ केजीमा विद्याकला राई, ६१ केजीमा सोना राई, ६८ केजी समुहमा जस्मिना राई र ६८ केजी माथिको तौल समुहवाट मिसडोना राईले जिल्लाको तर्फवाट प्रतियोगितामा खेल्नेछन् । यस्तै, पुरुष कुमितेतर्फ ५० केजीमा पर्शुराज राई, ५५ केजीमा अर्जुन श्रेष्ठ, ६० केजीमा सन्तोष राई, ६७ केजी तौल समुहमा रुरिहाङ दुमीले प्रतियोगितामा सहभागिता जनाउँदै छन् । यस्तै, ७५ केजीमा सजन राई, ८४ केजी तौलमा हरिकाजी राई र ८४ केजी भन्दा माथिको तौल समुहमा ईश्वरधन राईले प्रदेश स्तरीय प्रतियोगितामा भिड्ने वताईएको छ ।
प्रतियोगिताको टिम कोचका रुपमा सञ्जयकुमार राई तथा टिम व्यवस्थापकमा मनोज गिरी रहेको जनाईएको छ ।
जिल्लाका खेलाडीले गोल्डमेडल भित्र्याउनेमा आफु विश्वस्त रहेको प्रजिअ सुरेन्द्रराज पौडेलले वताउनुभयो । खेलाडीलाई अनुशासनको महत्वको वारेमा सुनाउँदै प्रजिअ पौडेलले पदक लिएर आईपुगेका खेलाडीलाई स्वागत गरेको सपना देखिसकेको सुनाउनुभयो । प्रदेश स्तरीयमा मात्र नभई राष्ट्रिय स्तरवाटै गोल्ड मेडल ल्याउने स्तरको प्रस्तुति जिल्लाका खेलाडीको रहेको प्रजिअ पौडेलको भनाई छ ।
जिल्लाका कराते खेलाडीहरुले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा अव्वल प्रस्तुतिका साथ मेडल भित्र्याउँदै आएका छन् ।
यसैवीच, जिल्लावाट अन्यत्र सरुवा भएका शेरगण मुढे व्यारेकका गणपति र सरुवा भई आएका नयाँ गणपतिलाई एकैसाथ स्वागत तथा विदाई गरिएको छ । अन्यत्र सरुवा हुनुभएका गणपति डम्वरवहादुर आलेलाई विदाई तथा सरुवा भई आउनुभएका गणपति जितेन्द्र गौलीलाई कराते संघले स्वागत गरेको हो ।