काठमाडौँ, २ फागुन (रासस) : वर्तमान सरकारले एक वर्षको अवधिमा भौतिक पूर्वाधार, ऊर्जा, जलस्रोत, पर्यटन, भूकम्पपछिको पुनःनिर्माण र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको एक वर्ष पुगेका अवसरमा आज सार्वजनिक गरिएको विवरणमा ती विषय समेटिएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले एक वर्षको बीचमा ४९७ किलोमिटर नयाँ सडक, निर्माण भएको, ५८९ किमी ग्रामीण सडकको स्तरोन्नति र २२१ किमी सडक कालोपत्र गरिएको बताउनुभयो ।

उहाँले ८७ वटा पक्की मोटरेवल पुल निर्माण सम्पन्न भएको, ४१७ झोलुङ्गे पुल बनाइएको उल्लेख गर्दै काठमाडौँ–तराई द्रूतमार्गमा आशाजनक प्रगति भएको सम्बोधनमा उल्लेख गर्नुभएको छ । मेची–महाकाली रेलमार्गअन्तर्गतको ढल्केबर सिमरा खण्डको काम तीव्ररुपमा अगाडि बढेको, जयनगर–कुर्था रेलमार्ग सम्पन्न भई रेल सञ्चालन हुने बिन्दुमा आइपुगेको जानकारी दिनुभयो । तुइन विस्थापन गर्ने अभियान अन्तिम चरणमा पुगेको तथ्याङ्क प्रस्तुत गर्दै प्रधानमन्त्रीले हरेक तीन दिनमा एउटाका दरले तुइन विस्थापन भएको बताउनुभयो ।

एक वर्षको अवधिमा ४९९ वटा नयाँ उद्योग दर्ता भई रु एक खर्ब ९८ अर्ब बराबरको लगानी प्रस्ताव आएको र विदेशी लगानीतर्फ ४१६ उद्योगले अनुमति लिइ रु ५१ अर्ब ८३ करोड बराबरको लगानी हुने अवस्था सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो ।
सरकार गठन भएको एक वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २२ घण्टा सञ्चालनमा आएको, धनगढी र चन्द्रगढीसहित छ विमानस्थलमा रात्रिकालीन सेवा शुरु गरिएको छ भने निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को जुनमा परीक्षण र सेप्टेम्बरदेखि व्यावसायिक उडानको तयारी गर्ने गरी काम भइरहेको छ । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्नेगरी काम भइरहेको तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण अन्तिम चरणमा पुगेको छ ।

नेपाल र भारतबीच ऊर्जा बैंकिङलगायतका दूरगामी प्रभाव पार्ने निर्णय र सम्झौता भएको छ, भने एक वर्षको अवधिमा तीन लाख विद्युत् उपभोग गर्ने ग्राहक थपिएका छन् । प्रतिव्यक्ति विद्युत् खपत १७७ किलोवाट घण्टाबाट बढेर २०० किलोवाट पुगेको, माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको, अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण शुरु भएको तथा सोही अवधिमा भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणसमेत अन्तिम चरणमा पुगेको छ ।

हरेक नेपालीलाई विद्युत्को शेयरधनी बनाउने लक्ष्यसहित ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम शुरु भएको जानकारी दिँदै प्रधानमन्त्रीले एक वर्षको अवधिमा नवलपरासीको धौबाधीमा करीब १० करोड मेट्रिक्टन फलामको धाउको भण्डार पहिचान भएको, पेट्रोलियम पदार्थको ढुवानीमा हुने चुहावट नियन्त्रण गर्न, लकिङ प्रणाली लागू भएको र पेट्रोलियम पाइप लाइन विछ्याउने काम तीब्रत्तररुपमा अगाडि बढेको बताउनुभयो ।

विशाखापटनम बन्दरगाह र वीरगञ्जका बीच निकासी पैठारी गरिँदा विद्युतीय कार्गो ट्र्याकिङ प्रणालीमार्फत सोझै वीरगञ्जमा क्लियरेन्सको व्यवस्था गरिएको, कोलकाता र हल्दिया बन्दरगाहबाट रेलमार्फत हुने पैठारीमा विद्युतीय कार्गो ट्र्याकिङ शुरु भएको छ ।

सरकारले एक वर्षमा छिमेकी नीति र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति भएको, भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको, दुई देशकाबीचमा रहेको थाती समस्याको समाधान भएको, विश्वमञ्च र क्षेत्रीय मञ्चमा नेपाल सुनिन थालेको र अन्तर्राष्ट्रिय जगत्मा नेपालप्रतिको विश्वास र आकर्षण बढेको प्रधानमन्त्रीको भनाइ छ ।

यस्तै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हिमालयन वारपार बहुआयामिक सम्पर्क सञ्चालअन्तर्गत रेल सडक र ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न १४ समझदारी तथा सम्झौता भएको थियो । नेपाल र चीनबीच पारबहन यातायात सम्झौताको पोर्टोकलमा सम्झौता भएसँगै नेपाललाई चीनका सडक र बन्दरगाह प्रयोग गर्दै समुद्रसँग पुग्ने ढोखा खुलेको छ ।

वर्तमान सरकार गठन भएको एक वर्षको बीचमा श्रीलङ्का र म्यान्मारका राष्ट्रपति, बङ्गलादेश, पाकिस्तान, कम्बोडिया थाइल्याण्डका प्रधानमन्त्री एवं म्यान्माका स्टेट काउन्सिलरले नेपालको भ्रमण गर्नुभयो भने द्विपक्षीय सम्बन्ध विस्तार गर्ने क्रममा परराष्ट्रमन्त्रीले विभिन्न देशको भ्रमण गर्नुभयो ।

यसैगरी विभिन्न चार मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना भई त्यस्तो सम्बन्ध स्थापना हुने मुलुकको सङ्ख्या १६३ पुगेको छ । नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको, बाँघको सङ्ख्यामा वृद्धि भएपछि संसारका प्रमुख १५ पर्यटकीय गन्तब्यमा नेपाल परेको, तथ्याङ्क प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले बैंक वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा तथा लगानी २०.३ प्रतिशतले बढेको निजी क्षेत्रमा भएको कर्जा प्रवाह २४.१ प्रतिशतले बढेको र कम्पनी दर्ताको सङ्ख्यामा मात्रै वृद्धि नभई औद्योगिक क्षमतासमेत विस्तर भएको जानकारी दिनुभयो ।

भूकम्पपछिको पुनःनिर्माणले गति लिएको, स्वास्थ्य बीमा कार्यक्रम ३६ जिल्लामा विस्तार भई बीमित सङ्ख्या झण्डै १५ लाख पुगेको स्थानीय तहमा ब्रोड ब्याण्ड इन्टरनेट सेवा विस्तारका क्रमम रहेको प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ । नूनको निर्माण यस वर्षको अर्को आधार हो भन्दै प्रधानमन्त्रीले एक वर्षको अवधिमा २५ कानून संसद्बाट पारित भएको, २३ विधेयक विचाराधीन अवस्थामा रहेको र २४ विधेयक संसद्मा पेश हुने अन्तिम तयारी भइरहेको सम्बोधनमा उल्लेख गर्नुभयो । जटिल मानिएको कर्मचारी समायोजनको अधिकांश कार्य एक वर्षभित्रै सम्पन्न भएको, सङ्घ, प्रदेश र स्थानीय तहमा जनशक्ति व्यवस्थापनसमेत गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।