खोटाङ फागुन–१, नेकपाकी केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले जनयुद्ध दिवसमा जनआन्दोलन थप्न नहुने वताउनुभएको छ । फागुन १ गतेलाई तत्कालिन माओवादीले जनयुद्ध दिवसको रुपमा मनाउँदै आएकोमा सोही दिन जनआन्दोलनका कार्यक्रम मिसाउन नहुने नेतृ राईले जनाउनुभयो ।
खोटाङमा वुधवार एकैसाथ मनाईएको जनआन्दोलन तथा जनयुद्ध दिवस कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै राईले जनयुद्धकै कारण हालसम्मको राजनैतिक उपलब्धी भएको बताउँदै यसलाई संस्थागत गरेर लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो । जनयुद्धको जगमा टेकेर भएको जनआन्दोलन र त्यसपछि प्राप्त उपलब्धीलाई कुनै पनि स्वार्थमा भुल्न नहुने बताउँदै उहाँले आगामी वर्षहरुमा जनयुद्ध र जनआन्दोलन दिवस फरक फरक समयमा मनाउनुपर्ने सुझाव दिनुभयो ।
नेपाल कम्युष्टि पार्टीको कार्यालय दिक्तेलमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य राईले कम्युनिस्ट आन्दोलनको दुई धार (संसदीय बाटो र सशस्त्र विद्रोह) ले कुनै समय एकअर्कालाई सिध्याउने र आफू मात्र स्थापित हुने प्रयास गरेको स्मरण गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, नेकपाका नेता कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, युवा संघ केन्द्रीय सदस्य दिनेश राई, आधिकारिक टूेड युनियन (कर्मचारी)का अध्यक्ष ध्रुव कार्की, नेकपाकी नेता रश्मी रसाईली र नेपाली कांग्रेसका उमेशचन्द्र आचार्यले आ–आफ्नो धारणा राखेका थिए ।