
खोटाङ माघ–२८, खोटाङका क्रियाशील पत्रकारहरुलाई क्षमता अभिवृद्दि तालिम प्रदान गरिएको छ । दुर्गम जिल्लाका पत्रकारहरुलाई क्षमता अभिवृद्दि तालिम दिने सूचना तथा प्रशारण विभागका कार्यक्रम अनुसार जिल्लाका पत्रकारहरुलाई तीन दिने तालिम प्रदान गरिएको हो ।
४ वटा दुर्गम जिल्लाका पत्रकारहरुलाई तालिम दिने योजना अनुरुप पहिलो पटक जिल्लाका क्रियाशील पत्रकारहरुको लागि आयोजना गरिएको तालिम सोमवार सम्पन्न गरिएको छ । सूचना तथा प्रशारण विभागले नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङसँगको सहकार्यमा तालिम सम्पन्न गरेको विभागका महानिर्देशक बालकृष्ण घिमिरेले वताउनुभयो ।
विभागको वरिष्ठ प्रशिक्षक डा.विजयप्रसाद मिश्रले जिल्लाका २० जना क्रियाशील पत्रकारहरुलाई एड्भान्स लेवलको तालिम प्रदान गरेको महानिर्देशक घिमिरेले जनाउनुभयो । तीन दिने तालिम प्रभावकारी र उपलव्धीमूलक वनेको पत्रकार महासंघका जिल्ला अध्यक्ष दमन राईले वताउनुभयो ।
राष्ट्रिय सञ्चार माध्यम बाहेक जिल्लाका स्थानीय दुई वटा एफएम, चार वटा साप्ताहिक, दुई वटा दैनिक, एक वटा पाक्षिक, छ वटा अनलाईनमा कार्यरत २० पत्रकारलाई सहभागी गराएर तालिम सञ्चालन गरिएको थियो ।
कार्यक्रमको समापनमा वोल्दै महानिर्देशक घिमिरेले नेपाली पत्रकारितामा अस्वस्थ प्रतिष्पर्धा र ‘हुवहु’को समस्या बढी देखिएको बताउनुभयो ।