खोटाङ माघ–२८, खोटाङको दक्षिणी क्षेत्रमा रहेको थामखर्क विमानस्थल कालोपत्रेसँगै सुचारु भएपछि स्थानीय हर्षिन भएका छन् । खोटेहाङ गाउँपालिका–४ बडकादियालेस्थित विमानस्थलको कालोपत्रेको काम सकिएपछि सोमवार परीक्षण उडान गरिएसँगै स्थानीय हर्षित भएका हुन् ।

नेपाल नागरिक उड्यान प्राधिकरणको नौ करोड २५ लाख २९ हजार रुपैंयाँमा कालोपत्रेको काम सम्पन्न भएपछि पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायतका टोली सहित निगमले परीक्षण उडान भरेको हो । गत असार मसान्तसम्ममा सक्ने गरी २०७३ सालबाट रौता कन्ट्रक्सनले कालोपत्रेको काम सुरु गरेको थियो । बेलामा काम नसक्दा स्थानीयले मार खेपेका थिए ।

परीक्षण उडानपछि उद्घाटन कार्यक्रममा बोल्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीले चुनावताका गरेका सबै प्रतिबद्धताहरु पूरा हुदै जाने दाबी गर्नुभयो । यसका लागि आगामी जेठ १५ मा हुने बजेटमा समावेश गरेर चुनावका समयमा गरेका सबै प्रतिबद्धताहरु धमाधम पूरा गर्ने बताउनुभयो ।

पर्यटनमन्त्री अधिकारीले थामखर्क विमानस्थल मुलुकभर सञ्चालनमा आएका ३२ औं भएको उल्लेख गर्दै यसको अन्य संरचनाका लागि सरकार प्रतिबद्ध रहेको समेत जनाउनुभयो । यसका साथै खोटाङका तीन विमानस्थलमध्ये कालोपत्रेको काम भइरहेको लामीडाडाँ विमानस्थल दुई महिनाभित्र र भत्किएर निर्माणाधिन अवस्थामा रहेको मनमायाँ राई खानीडाडाँ विमानस्थल पनि एक वर्षभित्र सञ्चालनमा आउने आश्वासन दिनुभयो । खोटाङका तीनै वटा विमानस्थल सञ्चालनसंगै प्रशिद्ध हलेसी, बराहापोखरी लगायतका पर्यटन विकासमा मन्त्रालयको तर्फबाट यथोचित कदम चालिने उल्लेख गर्नुभयो ।

नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले थामखर्क विमानस्थलमा हप्तामा दुई चोटी उडान भर्ने गरी तालिका निर्माण गरिने जनाउनुभयो । यद्यपि कुन–कुन बार उडान सञ्चालन गर्ने भन्ने टुङ्गो भने भैनसकेको खरेलले सुनाउनुभयो । नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले थामखर्क विमानस्थलका लागि आवश्यक संरचना सबै निर्माण गर्ने बताउनुभयो । परीक्षण उडानमा प्रतिनिधिसभा सदस्यहरु विशाल भट्टराई र हिरा गुरुङ, प्रदेशसभा सदस्य रामकुमार राई लगायतको समेत उपस्थित हुनुभएको थियो । परीक्षण उडान तथा उद्घाटन कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।