खोटाङ माघ–२२, खोटाङका किसानलाई हाते ट्याक्टर (पावर ट्रिलर) वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)ले १५ वटा पावर ट्रिलर वितरण गरेको हो ।
कृषिमा व्यवसायीकरणका लागि प्रोत्साहन अनुदान अन्तरगत ९ किसान समुहलाई शतप्रतिशत अनुदानमा र व्यवसायीक रुपमा कृषि पेशा अपनाइरहेका ६ किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा पावर ट्रिलर वितरण गरेको जनाईएको छ । मंगलवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित फुलबारी कृषक समुह, हरियाली आयआर्जन कृषक समुह, हातेमालो कृषि सहकारी संस्थालाई सत प्रतिशत अनुदानमा ७० हजार रुपैंयाँ मूल्य वरावरको पावर ट्रिलर प्रदान गरिएको परियोजना कार्यान्वयन इकाई (मकै जोन) कार्यालय खोटाङका निमित्त कृषि बिकास अधिकृत ध्रुबकुमार कार्कीले बताउनुभयो ।
यस्तै, पिप्ले दिक्तेलबारी कृषक समुह, पञ्चमाबि माझटोल कृषक समुह, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित नवजागरण तरकारी कृषक समुह, नयाँ पहिचान कृषक समुहलाई पनि सत प्रतिशत अनुदानमा नै जमिन जोत्ने पावर ट्रिलर एक÷एक थान प्रदान गरिएको छ । सत प्रतिशत अनुदान पाउनेमा सकृया कृषक समुह र सुर्यमुखी मकै बीउ उत्पादन कृषक समुह समेत रहेका छन् ।
यस्तै, किसानकै मागका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिवटा ८० हजार मूल्य पर्ने ६ वटा पावर ट्रिलर वितरण गरिएको मकै जोन सञ्चालक समितिका संयोजक दिपेन्द्र राईको भनाई छ ।