खोटाङ माघ–१४, दुबै मिर्गौला फेल भई उपचारका क्रममा रहेको खोटाङ खार्मीका झलकमान तामाङको थप उपचारका लागि आर्थिक सहयोगको याचना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका तामाङको उपचारको लागि आर्थिक अभाव भएको कारण परिवारले सहयोगको अपिल गरेको हो ।
मिर्गौला फेल भएपछि जीवन मरणको दोसाँधमा रहेका ३३ वर्षीय तामाङको गत पुषदेखि राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाण्डौमा डायलाईसिस भईरहेको परिवारले जनाएका छन् । पीडित तामाङको हप्तामा दुइ पटक डायलायसिस गराइरहेकोमा जटिल आर्थिक समस्या परेपछि सहयोगको याचना गर्नुपरेको जनाईएको छ ।
फेल भएको मिर्गौला दुइ पटक डायलायसिस गर्दा ६ हजार रुपेंयाँ खर्च हुने गरेको छ । डायलासिसमा बसेका बिरामीले बिशेष औषधी (इपिओ) सेवन गर्दा तथा अस्पताल आवतजावत र अन्य औषधीमा खर्च लाग्ने गरेको छ । निम्न आर्थिक अवस्था भएको झलकमान नै परिवारको सहारा भएको कारण विरामी परेपछि श्रीमतीसहित छोराछोरीको विचल्ली हुने अवस्था आएको झलकका बहिनी प्रतिमा तामाङले वताउनुभयो ।
झलकमानको श्रीमतीको समेत टाउकोमा नशा सम्बन्धि समस्या भएकोले श्रीमतीले पनि नियमित औषधी सेवन गरिरहनु छ ।
यसैवीच, झलकमानको उपचारार्थ रोजागरीको सिलसिलामा मलेसियामा रहेका युवाको पहलमा आर्थिक सहयोग जुटाईएको छ । नगरपालिकाका सोही वडा खार्मी साब्रुका रन्जित गुरुङको पहलमा ५२ हजार ४ सय ४३ रुपैंयाँ रकम संकलन गरी पीडितलाई प्रदान गरिएको जनाईएको छ । विभिन्न जिल्लाका ३५ जनाभन्दा बढीबाट संकलित उक्त रकम विरामीका श्रीमतीलाई प्रदान गरिएको बिरामीका आफन्त सुबास तामाङले बताउनुभयो ।
झलकको लागि कतारमा पनि सहयोग रकम संकलन हुन थालेको आफन्तले बताएका छन् । मानव सेवा नै धर्म हो भन्दै झलकमान बचाउ महाअभियानमा सबैलाई सामेल हुन परिवारको अनुरोध छ ।
रोगी तामाङले (सिएपिडि) माध्यमबाट घरमै डायलासिस गराउन चाहे महिनाको तीस देखी पैंतिस हजार रुपैंयाँ लाग्ने विशेषज्ञले जनाएका छन् । नेपालमै मृगौला प्रत्यारोपण गरेमा ५ लाख रुपैंयाँ र भारतका ठूला अस्पतालमा प्रत्यारोपण गर्नुपरेमा नेपालमा भन्दा बढी रकम लाग्ने राष्ट्रिय मृगौला उपचार केन्द्रले जनाएको छ । तामाङको एक छोरा, एक छोरी र श्रीमती छन् ।