खोटाङ माघ–१४, खोटाङमा सञ्चालित लघु जलविद्युत आयोजनाको ट्याङकीमा डुबेर एक वृद्दको मृत्यू भएको छ । ऐंसेलुखर्क गाउँपालिकास्थित लिदिङ खोला लघु जलविद्युत आयोजनामा पावर हाउसका लागि निर्माण गरिएको ट्याङकीमा डुबेर सोही गाउँपालिका–३ का करिव ७५ वर्षीय नर बहादुर राईको मृत्यु भएको हो ।
आइतबार साँझ वाटोमा हिँड्ने क्रममा लडेर पावर हाउसको ट्याङकीमा डुबेर राईको मृत्यु भएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिनुभयो । गाउँघरमा धामी काम गर्दै आएका वृद्द पावर हाउससम्म पुग्ने नहरमा लड्दा पानीले बगाएर ट्याङकीभित्र लगेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले वताउनुभयो । लडेर मृत्यु भएको वृद्दको शव पोष्टमार्टमका लागि सोमवार जिल्ला अस्पताल दिक्तेलमा ल्याइने डिएसपी केसीले जनाउनुभयो ।