खोटाङ माघ–१२, विद्युत मर्मत गर्ने क्रममा करेण्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका खोटाङ नेर्पाका हरिकाजी ढुंगानालाई आर्थिक सहयोग जुट्न थालेको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्ने क्रममा दुवै हात–खुट्टा गुमाएका ढुंगानाको लागि शनिवार मात्रै ५ लाख ५६ हजार ७ सय रुपैंयाँ जुटेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ढुङ्गानाले हलेसी तुवाचुङ नगरपालिकास्थित अर्खौलेको बर्खेटारमा विद्युत मर्मत गर्ने क्रममा पाँचवर्ष अघि हात खुट्टा गुमाउनु परेको थियो । ढुंगाना दुर्घटनामा परेपछि परिवारको विचल्ली भएको खवर देशविदेशमा पुगेपछि सहयोग रकम जुट्न थालेको हो । 
युट्युवर शिशिर भण्डारीको पहलमा गलकोट समाज जापान बाट संकलित ४ लाख र हङकङमा रहेका माल्बुल प्रेमी र साथीहरुवाट संकलित ४५ हजार सहयोग ढुंगानाको घरैमा पुगेर प्रदान गरिएको छ । यस्तै, काठमाडौ वस्ने लिला घिमिरेको पहलमा कर्मचारी लगायतका व्यक्तिहरुबाट संकलित ६१ हजार सात सय रुपैयाँ कृष्ण गिरीले आजै हस्तान्तरण गर्नुभएको हो । शनिवारै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईले पनि घरैम पुगेर ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गर्नुभएको पीडितको आफन्त झमप्रसाद आचार्यले वताउनुभयो ।
एघार केभी क्षमताको विद्युत लाईन मर्मत गर्ने क्रममा ३७ वर्षिय हरिकाजीलाई करेन्ट लागेपछि आश्रित वृद्द वुवाआमा र लालावालाको विचल्ली भएको छ । उपचारको क्रममा ऋण लिईएकोमा हाल ऋण फिर्ता माग्नेहरु दैनिकजसो घरमा आउने गरेकाले अर्को पिरलो थपिएको परिवारले हरिकाजीकी श्रीमति सीता ढुंगानाले सुनाउनुभयो ।
हरिकाजीको उपचारको लागि अहिलेसम्म ३७ लाख रुपैंयाँ भन्दा बढी खर्च भएकोमा २६ लाख रुपैंयाँ भने विद्युत प्राधिकरणले उपलब्ध गराएको आफन्त झमप्रसाद आचार्यले बताउनुभयो । करेन्ट लागेर बेहोस अवस्थामा पुगेका हरिकाजीको उद्दारपछि उपचारको लागि तत्कालै काठमाण्डौं लगिएको थियो । हरिकाजीलाई बचाउन काठमाडौंस्थित बि.एण्ड.बि. अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जण्ट वसन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाहिने खुट्टा काटेर फालेका थिए ।
दुर्घटनाको समयमा श्रीमतीको पेटमा भएको छोरा अहिले साँढे तीन वर्षका छन् भने पहिलो छोरी ११ वर्षकी रहेकी छिन् । हरिकाजीका बुबाआमा दुवै ८५ वर्ष नाँघेका छन् । सम्पत्तिको नाममा केही पाखो बारी मात्र भएको हरिकाजीको घरमा बुबाआमा, श्रीमती, बहिनी, एक छोरी र एक छोरा छन् । हरिकाजीका हातगोडा फालिएपछि अब उहाँका शरणमा रहेका सबै परिवार सहारा विहिन बनेका छन् ।