खोटाङ माघ–११, खोटाङस्थित जिल्ला कारागार शाखा दिक्तेलमा महिला वन्दी राखिएको भवन जिर्ण वनेका कारण वस्न तथा सुत्न समस्या भएको गुनासो आएको छ । मानव अधिकार शान्ति समाज खोटाङले विहिवार कारागार अनुगमन गर्ने क्रममा महिला वन्दीहरुले जिर्ण भवनमा वस्नुपरेकोले आफुहरुलाई सुत्न वस्न समस्या भएको गुनासो गरेका हुन् ।
कारागार प्रशासन तथा बन्दीसँग प्रत्यक्ष भेटेर कारागारको अवस्था र उपलब्ध सेवा सुविधाको बारेमा जानकारी लिने क्रममा भुकम्प र कमजोर भौगोलिक अवस्थाका कारण चिराचिरा परेको भवनमा चिसो र त्रासका कारण वस्न असहज भएको महिला वन्दीहरुले गुनासो गरेका थिए । शान्ति समाजको कृष्णप्रसाद आचार्यको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कारागारमा क्षमताभन्दा वढी कैदीवन्दी राखिएको पाईएको मानव अधिकार शान्ति समाज खोटाङकी उपाध्यक्ष मुना चौलागाईले जानकारी दिइन् ।
३३ महिला र ६६ जना पुरुष अटाउन सक्ने क्षमता रहेको कारागार शाखामा हाल १ सय ११ जना बन्दीहरु रहेका छन् । जसमध्ये १ सय ९ जना पुरुष र २ जना महिला वन्दीहरु छन् भने एक बालक अश्रित रहेको उपाध्यक्ष चौलागाईले बताइन् ।