खोटाङ माघ–२, २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा खोटाङमा कृत्रिम भूकम्प अभ्यास प्रदर्शन गरिएको छ । दिवसको अवसर पारेर बुधबार जिल्लाको दिक्तेलवजारस्थित माटिकोरेमा कृत्रिम भूकम्प अभ्यास प्रदर्शन गरिएको हो ।
भूकम्प, भूकम्पले पु¥याउने क्षती तथा त्यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका बिषयमा सर्वसाधारणलाई जानकारी गराउने उदेश्यले दिक्तेलमा कृत्रिम भूकम्प अभ्यास प्रदर्शन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो ।
खेलमैदानमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र रेडक्रसकर्मीले भूकम्पको दृश्य प्रस्तुत गर्दै खोज तथा उद्धार, राहत तथा पुर्नस्थापना सम्बन्धी जानकारी दिने सन्देशमुलक अभ्यास देखाएका छन् । भूकम्प जोखिम न्यूनिकरणका लागि पुर्वतयारी सम्बन्धी कृत्रिम घटना अभ्यास प्रस्तुत गरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । सुरक्षा तथा क्षति न्युनिकरणका दुई वटा कृतिम वस्तीको परिकल्पना तथा निर्माण गरी कम र वढी क्षतिको तुलना गराईएको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा रेडक्रस, जिल्ला अस्पताल लगायतसँगको सहकार्यमा बिपद व्यवस्थापन समितिले भूकम्प सुरक्षा दिबस मनाएको हो । भूकम्प सुरक्षा दिबसमा माटिकोरे खेलमैदानमा भूकम्पका बेला उपयोग हुने उद्धार सामग्री तथा भूकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धी जानकारी दिने सूचनामूलक सामग्री समेत प्रदर्शन गरिएको थियो ।