
खोटाङ पुष–२९, थुलुङ राई समुदायको भाषा तथा संस्कृतिको क्षेत्रमा क्रियाशील दुई संस्थावीच एकता भएको छ । थुलुङ राईको भाषा, संस्कृति, कला, साहित्य क्षेत्रमा काम गरिरहेको थुलुङ राई संस्कृति प्रतिष्ठान र थुलुङ राई भाषा पाठ्यक्रम विकास समितिवीच औपचारिक रुपमा एकता भएको हो ।
काठमाण्डौंको कोटेश्वरस्थित किरात राई यायोक्खाको कार्यालयमा सम्पन्न विशेष भेलावाट दुई संस्थावीच एकता भई थुलुङ राई संस्कृति प्रतिष्ठान निर्माण भएको हो । एउटै लक्ष्य, उदेश्य तथा भावनाले स्थापित दुई संस्थाहरुको काम एकै प्रकारको भएकाले मर्ज गरिएके एकीकृत संस्थाको अध्यक्ष निर्कुधन राईले वताउनुभयो । प्रतिष्ठान २०६८ सालमा स्थापित भई थुलुङ राई जातिको भाषा तथा संस्कृतिको क्षेत्रमा क्रियाशील थियो भने पाठ्यक्रम विकास समिति गत वर्ष स्थापना भई थुलुङ राई भाषाको पाठ्यक्रम तयार गरी विद्यालयमा पठनपाठन गराउने कार्यमा लागिरहेको थियो । प्रतिष्ठानको स्थापना कालदेखि नै निर्कुधन अध्यक्ष हुनुहुन्थ्यो भने पाठ्यक्रम विकास समितिको अध्यक्ष साँस्कृतिक अभियान्ता साहित्यकार खुक्सङ खम्वु रहनुभएको थियो ।
नव गठित प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा खुक्सङ खम्वु तथा उपाध्यक्षमा भीम थुलुङ राई चयन हुनुभएको छ । प्रतिष्ठानको महासचिव पदम थुलुङ राई, सचिव सन्तोष थुलुङ, कोषाध्यक्ष चन्द्रकला थुलुङ राई तथा सहकोषध्यक्ष माओदिप थुलुङ राइ सर्वसम्मत चयन भएको अध्यक्ष राईले जनाउनुभयो ।
प्रतिष्ठानको मुख्य तथा पहिलो काम कक्षा दुईको पाठ्यपुस्तक तयार गर्ने र विद्यालयमा लागु गराउने रहेको अध्यक्ष निर्कुधन राईको भनाई छ । भाषा नै नरहे पहिचान हराउने हुनाले भाषालाई जोगाउने तथा स्थापित गराउने कार्यलाई पहिलो प्राथमिकता दिईएको राईले जनाउनुभयो ।