
काठमाडौं २६ पुस । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको बुधबार रगत नमूना सङ्कलन गरिएको छ ।
निक्कै चर्चित यस घटनामा निर्मलाकी आमाले किन रगत दिइन् भनेर धेरैलाई शंका उब्जन भने सक्छ । तर, निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाव’ निर्मलाकै हो वा हैन भनेर प्रश्न उठेपछि दुर्गादेवीले यकिन गर्न जिल्ला प्रहरी कार्यालयमा रगत नमूना सङ्कलनका लागि निवेदन दिएकी थिइन् । उनै दुर्गादेवीको निवदेन अनुसार रगत संकलन गरिएको हो । अब उनको रगत नमुना अनुसार निर्मलाको मेल खाएमा मात्र अहिले अनुसन्धानमा प्रयोग भइरहेको भेजाइनल स्वाव यकिन हुनेछ । मेल नखाएमा घटनाले अर्को रुप लिन पनि सक्छ ।
रगत दिएपछि दुर्गादेवीले घटनाको थप अनुसन्धानमा सहयोग पुगोस् भनेर आफूखुशी रगत दिएको बताएकी छिन् । यहाँ अचम्मको कुरो चाँही के छ भने निर्मलाका बुबा यज्ञराज पन्तले परीक्षणका लागि रगत नमूना सङ्कलन गर्न मानेनन् ।
राष्ट्रिय समाचार समितिको खबरमा दुर्गादेवीले श्रीमान् यज्ञराजले रगत दिन अस्वीकार गरेको जानकारी दिएको उल्लेख छ । उनले किन आफ्नो रगत दिएनन् भनेर अहिले गम्भीर प्रश्न समेत उठेको हो ।
निर्मलाको गत साउन ११ गते बिहान भीमदत्तनगरपालिका–१८ को उखुबारीमा शव भेटिएको थियो । अहिलेसम्म हत्यारा को भन्ने पत्ता लाग्न सकेको छैन ।