
काठमाडौं २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खोटाङका जिल्ला नेता कुमार आचार्यको स्वास्थ्यमा सुधार आएको छ ।
काठमाडौंको सिभिल अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार आएको हो । प्रेसर बढेपछि उपचारका लागि हेलिबाट उनलाई काठमाडौं ल्याइएको थियो । हाल उनको अस्पतालको ‘जनरल वार्ड’ मा राखेर उपचार भइरहेको छ ।
नेता आचार्यले आफूलाई सञ्चो हुँदै गएको बताए । ‘मलाई सञ्चो हुँदै गएको छ,’ अस्पतालको बेडबाटै उनले हाम्रोखोटाङसँग भने, अलि अलि रिंगटा चाँही सञ्चो भएको छैन, अरु सामान्य जस्तै हुँदै गएको महसुस गरेको छु ।’
उनी अकस्मात् बिरामी परेको खबर बाहिरिएपछि चौतर्फी रुपमा विभिन्न माध्यमबाट उनको स्वास्थ्य लाभको कामना भएको थियो । नेता आचार्यले स्वास्थ्य लाभको कामना गर्नेप्रति धन्यवाद प्रकट समेत गरेका छन् ।