खोटाङ १८ पुस । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनले संवैधानिक व्यवस्था अनुसार निःशुल्क शिक्षा कार्यान्वयन गर्न माग गरेको छ ।
नेविसंघ खोटाङले नागरिकको माध्यमिक तहसम्मको अनिवार्य र निःशुल्क शिक्षाको अधिकार कार्यान्वयन गर्न माग गर्दै सिडिओमार्फत सरकारसँग माग गरेको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क हुने तथा मावि तहसम्मको शिक्षा निःशुल्क पाउने हकलाई कार्यान्वयन गर्न माग गरेको हो ।
जिल्ला सभापति राजकुमार बस्नेतले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेललाई बुझाएको ज्ञापन पत्रमा शिक्षा सम्बन्धी नागरिकको हकलाई कार्यान्वयनमा ल्याउन माग गरिएको छ ।