खोटाङ पुष–१८, खोटाङको जन्तेढुंगा गाउँपालिकास्थित ऐतिहासिक जन्तेढुंगालाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गराउनका लागि महोत्सवको तयारी गरिएको छ । जन्तेढुंगालाई आन्तरिक र वाह्य पर्यटनको विकास गर्ने उद्देश्यले आगामी फागुन÷चैत्र महिनामा महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शंकरबहादुर राईले बताउनुभयो ।
साविक दिप्लुङ गाविसमा अवस्थित उक्त जन्तेढुंगा हालको जन्तेढुंगा गाउँपालिका–७ मा अवस्थित छ । परापूर्व कालमा जन्तीहरु लोप भएपछि उक्त ढुंगाको नाम जन्तेढुंगा रहन गएको किंवदन्ती रही आएको छ । हाल दैनिक एक दर्जन स्थानीयहरु उक्त ठाउँमा घुम्न जाने गरेका छन् । यद्यपी महोत्सव गरिसकिएपछि दैनिक सयौंको संख्यामा आन्तरिक र वाह्य पर्यटकलाई भित्र्याउन सकिने उपाध्यक्ष बिमला राईको भनाई छ । महोत्सव पश्चात जन्तेढुंगाको पर्यटकीय विकास हुने अपेक्षा गरिएको उहाँले जनाउनुभयो ।
महोत्सवको लागि गाउँपालिकाले १७ लाख रुपैया बजेट विनियोजन गरेको छ । महोत्सवमा आन्तरिक उत्पादन तथा खाद्यन्नवस्तु साथै जन्तेढुंगाको ऐतिहासिक पृष्ठभूमि र परिचय झल्कने विविध सामाग्रीहरु राखिने जनाईएको छ । महोत्सवमा विभिन्न झाँकीहरु प्रर्दशन हुने बताईएको छ ।