खोटाङ पुष–८, लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दिक्तेलले तीन करोड रुपैंयाँ बढी निक्षेप संकलन गरेको छ । संस्था स्थापना भएको तीन वर्षको अवधिमा तीन करोड ९५ लाख, ५८ हजार १ सय ५५ रुपैंयाँ निक्षेप संकलन गरेको हो ।
दुई लाख रुपैंयाँ शेयर पुँजीबाट शुरु गरिएको सहकारीमा अहिले ४१ लाख २१ हजार ४ सय शेयर पुँजी पुगेको संस्थाका अध्यक्ष अनिल जोशीले जानकारी दिनुभयो । जिल्लाका ३२ जना शेयर धनीको लागनीबाट शुरु गरिएको सहकारीमा अहिले १ सय ५० जना शेयर धनी पुगेको सहकारीले जनाएको छ ।
वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लक्ष्यकासाथ २०७२ साल मङ्सिर १० गतेबाट सेवा शुरु गरेको सहकारीको तेस्रो साधारणसभा शनिबार उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले पानसमा बत्ती बाल्नुका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल र उपप्रमुख वीणदेवी राईले गमलामा जल सेचन गरेर साधारणसभा उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमका वक्ताहरुले लालुपाते सहकारीले जिल्लामा छोटो समयमै राम्रो काम गरेको र आगामी दिनमा अझ प्रभावकारी बनाउन सुझाव दिएका छन् । जिल्लामा हालसम्म बित्तिय कारोबार सम्बन्धीका मात्र सेवा प्रबाह गर्दैआएको सहकारीको भीडमा लालुपातेले उत्पादनमूलक, कृषि उपजका सहकारी पसल, उत्पादनशिल क्षेत्रमा लगानी लगायत सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ ।
साधारणसभा उद्घाटन कार्यक्रममा गत कातिक २३ गते दिक्तेलमा भएको आगलागीबाट ठूलो क्षति हुन नदिन सहयोग गर्ने राजु श्रेष्ठलाई सम्मान गरिएको छ । सहकारीले यसै वर्षबाट स्थापना गरेको ‘विवेकशी नागरिक सम्मान’बाट लफ्याङका श्रेष्ठलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।