खोटाङ पुष–६, खोटाङको बराहपोखरी गाउँपालिकाले २० वर्षे आवधिक गुरुयोजना निर्माण शुरु गरेकोे छ । ‘सभ्य र समृद्ध बराहपोखरी गाउँपालिकाको मूल आधार’ भन्ने नाराका साथ गाउँपालिकाको आर्थिक सहयोग तथा स्कोलर नेपाल कन्सलट्यान्ट प्रा.लि. काठमाडौंको प्राविधिक सहयोगमा गुरुयोजना निर्माण शुरु गरेको हो ।
दक्षिणी क्षेत्रमा पर्ने गाउँपालिकाको दिर्घकालीन सोंचका लागि कृषि, पर्यटन, प्राकृतिक सम्पदा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गुरुयोजना निर्माण शुरु गरिएको गाउँपालिकाका उपप्रमुख गोमा मगरले जानकारी दिनुभयो । कृषिलाई पहिलो प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको आवधिक गुरुयोजनामा सोही गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी ताल, सुनापत्ताल, घोप्टेथलो, गोकुलथुम्का लगायतका पर्यटकीय क्षेत्रहरु समेतको गुरुयोजना बनाइने जनाइएको छ ।
गुरुयोजना निर्माणका लागि कन्सलट्यान्टलाई तीन महिनाको समय दिइएको गाउँपालिकाले जनाएको छ । गुरुयोजना निर्माणका लागि पहिलो चरणको छलफल तथा अन्तरक्रियाको काम सकिएको उपप्रमुख मगरको भनाई छ ।
यसैबीच, उक्त गाउँपालिकाले अडियो नोटिस बोर्ड समेत सञ्चालनमा ल्याएको छ । गाउँपालिकामा भएका गतिविधिलाई सर्वसाधारणलाई सहज ढङ्गले जानकारी दिन अडियो नोटिस बोर्ड सञ्चालनमा ल्याएको होे ।
गाउँपालिकाले सञ्चालनमा ल्याएको १६१८०७०७०३६०१ नम्बर डायल गरेपछि गाउँपालिकाको वेभसाइड तथा अन्य सूचनाहरु प्राप्त गर्न सकिने सूचना प्रविधि अधिकृत सुजिव तामाङले जानकारी दिनुभयो । उक्त गाउँपालिकाले मङ्सिर ४ गतेबाट मोवाइल एप्स पनि सञ्चालनमा ल्याएको छ ।