
खोटाङ पुष–५, खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाका वृद्धवृद्धाको लागि निःशुल्क यातायात सेवाको व्यवस्था गरिएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सडक यात्राका क्रममा निःशुल्क सेवा दिने उद्देश्यले गाउँपालिकाले यातायात सेवा परिचयपत्र वितरण गरेको हो ।
दिक्तेल र दिप्रुङ गाउँपालिकाको पञ्चमीबजारसम्म यात्रुबाहक सवारीसाधन आवतजावत गर्न थालेपछि गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । गाउँपालिकाभित्रका वृद्धवृद्धालाई निःशुल्क सडक यात्राको व्यवस्था गर्न गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेको उहाँको भनाई छ । वृद्धवृद्धाको सम्मान, हौसला र सहज यात्राका लागि त्यस्तो व्यवस्था गरिएको जनाईएको छ ।
ज्येष्ठ नागरिकको सहज यात्राका लागि उक्त गाउँपालिका र खोटाङ यातायात प्रा.लि.बीच गत मङ्सिर २२ गते परिचयपत्रको आधारमा यात्रा गराउने सम्झौता भएको थियो । यातायात प्रा.लि. र गाउँपालिकाबीच भएको सम्झौतापत्रमा ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात टिकटको व्यवस्था गर्ने, निःशुल्क यातायात सुविधा लिन ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निःशुल्क यातायात परिचयपत्र बोकेको हुनुपर्ने उल्लेख गरिएको छ । भुक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको सोही टिकटको अर्धकट्टी लिएर गाउँपालिका आउने, गाउँपालिकाले भुक्तानी समिति गठन गरेर सोही समितिमार्फत यातायात प्रा.लि.लाई मासिक रुपमा भुक्तानी दिने लगायतका गाउँपालिका र यातायात प्रा.लि.बीच भएको सम्झौता वार्षिक रुपमा नवीकरण गर्ने लगायत उल्लेख छ ।