खोटाङ पुष–५, फोक्सिङटारस्थित सुनकोसी नदीको अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि खोटाङ र तराईको सिधा यातायात सुचारु भएको छ । खोटाङ र उदयपुरको सिमानामा पर्नेे फोक्सिङटारमा गत मङ्सिर १७ देखि पुनः जडानको काम थालिएको बेलिब्रिज बुधबारबाट सञ्चालनमा ल्याइएपछि खोटाङ र तराई जोडिने छोटो मार्ग सुचारु भएकोे हो ।
फोक्सिङटारमा बेलिब्रिज सञ्चालन भएपछि दिक्तेल–गाईघाट, दिक्तेल–धरान, दिक्तेल–विराटनगर, दिक्तेल–काँकडभिट्टा लगायतका ठाउँहरु आवत–जावत गर्ने सवैभन्दा छोटो मार्गमा यातायात शुरु गरिएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङ्माङले जनाउनुभयो ।
हरेक वर्षायाममा कोसीमा आउने बाढीबाट बचाउन फोक्सिङटारमा जडान गरिने बेलिब्रिज वैशाख–जेठमा खोेल्ने गरिएको छ । उत्तः स्थानमा हिउँद लागेपछि कातिक/मङ्सिरमा पुनः जडान गरेर यातायात सञ्चालन गर्ने गरिएको छ । फोक्सिङटारको करिब ५० मिटर लामो दूरीमा सडक विभागको ८१ लाख रुपैंयाँ लागतमा सगरमाथा कन्स्ट्रक्सन प्रा.लि. गाईघाटले अस्थायी बेलिब्रिज जडान गरेको हो ।
सगरमाथा लोकमार्गमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा विगत वर्षको तुलनामा केही ढिला जडान गरेर बेलिब्रिज सञ्चालनमा ल्याइएको कन्स्ट्रक्सनका सञ्चालक प्रेमराज कार्कीले बताउनुभयो । गत वर्ष कातिकमै बेलिब्रिज पुनः जडान गरेर यातायात सञ्चालनमा ल्याइएको थियो ।
फोक्सिण्टारमा दश वर्षअघि नै पक्की पुल बनाउने योजना भएपनि सम्बन्धित ठेकेदारले काम नगर्दा अहिलेसम्म निर्माण भएको छैन । अस्थायी रुपमा सञ्चालन गरिने बेलिब्रिज जडान गर्दा र खोल्दा वर्षेनी डेढदेखि दुई करोडको हाराहारी राज्यकोषको रकम खर्च हुने गरेको छ ।
उदयपुरको गाईघाटदेखि दिक्तेलसम्मको उक्त सगरमाथा लोकमार्ग तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले वि.सं. २०५३ सालमा शिलान्यास गर्नुभएको थियो । १ सय ३९ किलोमिटर दूरीको उक्त लोकमार्ग २५ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । फोक्सिन्टारदेखि दिक्तेलसम्मको ७६ किलोमिटर दूरीको सडक भने ग्राबेल र स्तरोन्नतिको काम भइरहेको छ ।