खोटाङ पुष–३, खोटाङवाट बैदेशिक रोजगारीमा गइ फर्किएका कामदारले विदेशमा वटुलेका अनुभव र सीपलाई स्वदेशमा उपयोग गर्न नसकेको पाईएको छ । बैदेशिक रोजगारीका क्रममा खाडी मुलुक तथा मलेसिया वसेर आएका युवाहरुले त्याहाँ सिकेका मेसन, ईलेक्ट्रिसियन, सर्टिङ, कार्पेण्टर, प्लम्विङ लगायतका सीपहरु जिल्लामा उपयोग गर्न नसेको हो ।
विदेशवाट फर्किएका कतिपय कामदारलाई स्थानीय निर्माण कार्यमा अवसर नै दिईन्न भने कतिपय युवाहरुले स्वदेशमा काम गर्ने चासो नदेखाउँदा सीप र अनुभव उपयोग हुन नपाएको सरोकारवाला वताउँछन् । कतिपय निर्माण व्यवसायीले सीपयुक्त स्थानीयलाई काम गर्ने अवसर नदिई वाहिरवाट कामदार ल्याउँदा विदेशवाट फर्किएका र स्वदेशमै काम गर्न चाहाने युवाहरु पूनः विदेशै फर्कनुपर्ने अवस्था आएको आप्रवासी हकहीत केन्द्र खोटाङका अध्यक्ष सप्तमणी राईले वताउनुभयो । जिल्लामा सञ्चालन भईरहेको गौरवको आयोजना अन्र्तगतको निर्माण कार्यमा समेत भारतीय कामदारले रोजगार पाएको तर स्थानीयले काम गर्न चाहेर पनि नपाएको भेटिएको अध्यक्ष राईले जनाउनुभयो ।
सचेतना अभावका कारण पनि विदेशका अनुभव तथा सिकेका सीपलाई आफ्नै ठाउँमा सदुपयोग गरी आम्दानी गर्नुको सट्टा युवाहरु बैदेशिक रोजगारीमै फर्किने गरेको वताईएको छ । बैदेशिक रोजगारीमा जाने व्यक्ति तथा परिवारका हकहीतको लागि काम गर्दै आएका हकहीत केन्द्रका अध्यक्ष राईले स्वदेशमै काम गर्न चाहानेहरुलाई अवसरको सिर्जना गर्न सवै पक्ष लाग्नुपर्ने उल्लेख गर्नुभयो । बैदेशिक रोजगारीका क्रममा धेरै सीप सिके पनि आफ्नो देश फर्कि सकेपछि ‘आउट अफ ट्र्याक’मा रहने कारणले पनि युवाहरुले उक्त सीपको सदुपयोग गर्न नसकिरहेको जनाईएको छ ।
स्थानीय तहका जनप्रतिनिधिले भने सकेसम्म स्थानीय सीपयुक्त युवाहरुलाई नै रोजगारी दिने गरी कार्यहरु गरिरहेको जनाएका छन् । स्थानीय स्तरमा उपलव्ध सीपयुक्त जनशक्तिलाई नै हरेक कार्यमा प्राथमिकता दिन जोड गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर दिपनारायण रिजालले वताउनुभयो । नगरपालिकाभित्र भईरहेको निर्माण कार्यहरुका लागि दक्ष तथा सीपयुक्त स्थानीय भए उनिहरुलाई नै कामको अवसर दिनका लागि निर्माण व्यवसायीलाई अनुरोध गर्ने समेत मेयर रिजालले जनाउनुभयो ।
यस आर्थिक वर्ष मात्र जिल्लावाट ९ हजार युवा रोजगारी खोज्दै मलेसिया तथा खाडी मुलुक गएको तथ्याङक छ । जिल्लावाट विदेशिएका व्यक्तिहरुले प्रतिव्यक्ति सरदर मासिक २४ हजार रुपैंयाँ कमाई गर्छन् ।