खोटाङ पुष–२, खोटाङमा प्रथम पटक नगारपालिकाको वडास्तरीय भलिबल प्रतियोगिता आयोजनाको तयारी गरिएको छ । आगामी पुस ७ गतेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा स्तरीय भलिवल प्रतियोगिता गर्ने तयारी गरिएको हो । सोही नगरपालिका र २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा पुस– ७, ८ र ९ गते प्रथम वडास्तरीय भलिबल प्रतियोगिता गरिने भएको हो । नगरपालिकाको १५ वटै वडाका खेलाडीलाई सहभागी गराइने प्रतियोगिताका विजेता समूहले नगद ५५ हजार रुपैंयाँ ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक सुवर्ण राईले जानकारी दिनुभयो । प्रतियोगिताका उपविजेताले नगद ३३ हजार ३ सय ३३ रुपैंयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । सोल्माको डाँडागाँउस्थित साकेलाथान खेलमैदानमा हुने प्रतियोगिताका सेमिफाइनलिस्ट दुई समूहलाई नगद १५ हजार १५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सोमबार दिक्तेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट समूह प्रशिक्षक र अनुशासित समूहलाई जनही नगद तीन हजार ३ सय ३३ का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । फुर्सदिला युवा पुस्तालाई खेलकुदमा संलग्न गराउँदै लागू औषध तथा समाजमा हुने विकृति, विसंगतिबाट जोगाउने योजना बनाएको सक्रिय विकास मञ्च नेपालका अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । संस्थाले नगरपालिकामा खेलकुद पर्यटनको रुपमा विकास गर्ने योजना समेत बनाएका छन् । स्थनीयस्तरमा उत्पादन हुने खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय जिल्लामा भलिबल खेल हराउँदै गएकाले जिल्लामा खेल संस्कारको विकास गर्नमा प्रतियोगिताले सघाउ पुग्ने आयोजकले दाबी गरेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।