खोटाङ पुष–१, । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटो बजार जिल्लाकै व्यवस्थित बनेको छ । हरेक शुक्रबार हटिया लाग्ने ऐतिहासिक पञ्चदोबाटो बजारलाई नगरपालिकाको एक करोड २० लाख रुपैंयाँ लगानीमा जिल्लाकै सवैभन्दा व्यवस्थित वजारको रुपमा स्थापित गरिएको हो ।

बजार क्षेत्रमा स्टिल ट्रष्ट निर्माण, खानेपानीको व्यवस्था, शौचालय, फोहोर व्यवस्थापन केन्द्र, भूईंमा सिमेण्टको प्लाष्टर लगायत निर्माण गरेर जिल्लाकै व्यवस्थित बजार बनाइएको हो ।
नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ६५ वटा स्टिल ट्रष्ट, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय, बगैंचा, विद्युत, खानेपानी धारा लगायतको व्यवस्था गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष सुनिल राईले बताउनुभयो ।
जिल्लाको अर्गानिक खाद्य सामग्री खरिद तथा बिक्री हुने उक्त बजारमा अहिलेसम्म नगरपालिका र स्थानीयको श्रमदानगरि करिब दुई करोड रुपैंयाँको लगानीमा भौतिक संरचनाहरु निर्माण भएको स्थानीयबासीले बताएका छन् ।
लामो समयदेखि शुक्रबार हटिया लाग्ने पञ्चदोबाटोमा यसअघि चित्राको छाप्रो हालेर व्यापार गर्ने गरिएको थियो । खोटाङको मात्र नभइ छिमेकी जिल्ला उदयपुरका सर्वसाधारणले समेत प्रत्यक्ष सेवा लिने उक्त ठाउँमा निर्माण गरिएको भौतिक संरचना नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले उद्घाटन गर्नुभयो ।

नगरपालिकाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको पञ्चदोबाटो बजारलाई व्यस्थित गर्न एक जना कर्मचारी समेत राखिएको छ । सगरमाथा लोकमार्गमा पर्ने पञ्चदोबाटो बजार यसअघि ढुलो र फोहरको डङ्गुरले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएको थियो । बजारलाई व्यवस्थित र आधुनिकीकरण गरेपछि व्यापारीको संख्या पनि वृद्धि हुँदै गएको छ ।
परम्परागत रुपमा सञ्चालन हुँदै आएको बजारलाई आधुनिकीकरण गरेपछि व्यापार व्यवसाय सञ्चालनमा सहज भएको व्यापारी वताउँछन् । हप्ताको एक दिन मात्र हटिया लाग्ने पञ्चदोबाटोमा बस्नेतसँगै करिब १ सय ५० जना व्यापारीले लामो समयदेखि व्यापार गर्दै आएका छन् । हटियाको दिन न्यूनतम् दश हजारदेखि ५० हजारसम्म व्यापार हुने गरेको व्यापारीहरु बताउँछन् ।
तरकारी, थोकवस्तु, लत्ताकपडा, भाँडाकुँडा लगायत छुट्टाछुट्टै राखेर बिक्री गर्न गराउन बजारलाई आधुनिकीकरण गरिएको वडा अध्यक्ष दिनेश राईले बताउनुभयो । पञ्चदोबाटो बजारमा विशेषगरि चामल, दाल, तरकारी तथा फलफूल, कुखुराको भाले तथा सुँगुरको पाठापाठी लगायत घरायसी उत्पादन खरिद तथा बिक्री हुने गर्दछ । सडक सञ्जालको राम्रो पहुँच रहेको उक्त बजारमा अर्गानिक खाद्यवस्तु पाइने भएकाले पनि सबैको व्यापारिक केन्द्र बनेको हो । लेक र बेँसीको बीच भागमा सञ्चालन हुने पञ्चदोबाटो बजारमा लेकालीले झारेको आलु, मकै, गहुँ तथा सागसब्जी बेँसीकाले उत्पादन गरेको दाल, चामल, फलफूलसँग साटासाट गर्ने चलन समेत रहेको छ । पुरानो तथा ऐतिहासिक बजार पञ्चदोबाटोलाई स्थानीय तह लागू भएपछि व्यवस्थित गरिएको हो ।