बैशाख ९ । खोटाङमा भुकम्पपछिका निजी आवास पुनःनिर्माण अनुदान सम्झौता कार्यले तीब्रता पाएको छ । भूकम्पबाट क्षतीग्रस्त आवास पूनःनिर्माणका लागि एक साता अघि औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको आवास अनुदान सम्झौताको काम तीब्र रुपमा अघि बढेको हो ।
भूकम्पीय आवास पुनर्निर्माणका लागि जिल्लास्थित साविक गाबिसका ७ हजार ४ सय ४ लाभग्राही पहिचान भए लगत्तै आवास अनुदानको काम अघि बढाईएको थियो । हाल दैनिक रुपमा अनुदान सम्झौताका लागि लाभग्राहीहरुको भिड लाग्ने गरेको रुपाकोट मझुवागढी नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीको भनाई छ । किरातीका अनुसार नगरपालिकाको कार्यालयले मात्र लाभग्राहीको काम गर्न असम्भब रहेकाले वडा स्तरीय रुपमा सम्झौताको कार्य अघि बढाईएको छ । करिब साता दिन अघिदेखि थालिएको सम्झौताको काम हाल ४० प्रतिशत सम्पन्न भईसकेको छ । रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै ३ सय ४६ घरधुरी लाभग्राही छन् ।
अन्य साबिक गाबिसको लाभग्राहीको सूची आउन बाँकी रहेको जिल्ला समन्वय समितिले जनाएको छ । भूकम्प पछिको पुनर्निर्माणका लागि खोटाङलाई १३ करोड रकम प्राप्त भइसकेकाले नामावलीमा भएका लाभग्राहीले चाँडो भन्दा चाँडो सम्बन्धित कार्यालयसँग सम्झौताका लागि ताकेता गर्न स्थानीय बिकास अधिकारी बिसीको अनुरोध छ ।
सम्झौता लगत्तै आवश्यक कागजात पेश गर्ने लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, डिपिसिको काम सकिएपछि दोश्रो किस्तामा १ लाख ५० हजार र छाना हाल्ने बेलामा तेश्रो किस्तावापत ७५ हजार तथा शौचालय निर्माणपछि २५ हजार रकम खातामा उपलव्ध गराइने संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय (सिएलपिआइयू)का ईन्जिनियर उदयनारायण ठाकुरले बताए ।
अनुदान प्राप्त गर्ने लाभग्राही भने स्थानीय तहको निर्बाचनसँगै बर्षायाम आएकाले पुर्ननिर्माणको कार्य अगाडी बढाउन समस्या हुन सक्ने बताउँछन् ।