खोटाङ १२ वैशाख । झण्डा बोकेका कांग्रेस कार्यकर्ताले मोटरबाईकमा ओहोरदोहोर गरेर आफ्नो चुनावीसभामा अवरोध पुर्याएको भन्दै एमाले खोटाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको पञ्चरदोबाटोमा गत शनिबार आयोजना गरिएको उम्मेदवार घोषणा कार्यक्रमलाई कांग्रेस कार्यकर्ताले बाईकमा पार्टीको झण्डा राखेर ओहोर–दोहोर गर्दै अवरोध गर्न खोजेको भन्दै एमालेले घटनाको निन्दा गरेको हो ।

एमाले खोटाङका उपसचिव कुमार आचार्यले शनिबार साँझ विज्ञाप्तीमार्फत शान्तिपूर्ण तरिकाले आफ्नो बिचार राख्ने र कार्यक्रम गर्न पाउने अधिकार कांग्रेस कार्यकर्ताको गतिबिधिबाट उल्लंघन भएको भन्दै बिरोध जनाएका छन् । तरुण दलका बुईपा संयोजक सुनिल श्रेष्ठले नियतबस कांग्रेसको झण्डा मोटरसाईकलमा राखेर पटक–पटक ओहोरदोहोर गरेपछि युवा संघका कार्यकर्ताले रोक्न खोज्दा अटेर गरेपछि झण्डा निकालेर पशलको छानोमा राखिदिएको निहुमा कांग्रेसको कार्यकर्ताको टोलीले नाराजुलुस समेत गरेको एमालेले जनाएको छ । विबादकाक्रममा एमाले कार्यकर्ताबाट तरुण दलका बुईपा संयोजक श्रेष्ठमाथि कुटपिट भएको छ । कांग्रेसका नेताले नुनथला प्रहरीचौकीको असईमाथि हातपात गरेको, बर्दी च्यातिदिएको, दुर्छिम स्वास्थ्यचौकीको एम्बूलेन्सलाई दुरुपयोग गरेको, एमालेको झण्डा जलाइदिएको भन्दै एमालेले विरोध जनाएको छ ।

सांसदद्धय बिशाल भट्टराई र पिके राईको उपस्थितिमा भएको कार्यक्रममा झण्डा बोकेको कांग्रेस कार्याकर्ताले मोटरसाईकलमा ओहोर–दोहोर गरेर अवरोध पु¥याएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच मुठभेद भएको हो । ‘पञ्चरदोबाटोमा एमालेले कार्यक्रम राखेको रहेछ, त्यही ठाउँबाट झण्डा सहितका कांग्रेसका कार्यकर्ता बाईकमा ओहोर दोहोर गरेको निहुमा विबाद सुरु भएको हो,’ डिएसपी नबिनकिशोर प्रधानले भने, ‘अहिले बिवाद समाधानको पहल गरिरहेका छौँ ।’ घटनाको विषयलाई लिएर कांग्रेस–एमाले आरोप प्रत्यारोपमा उत्रिएका छन् । घटनापछि सभापति नरेश श्रेष्ठ, महासमिति सदस्य सुवासकुमार पोखरेलको नेतृत्वमा कांग्रेसको एक टोली शुक्रबार साँझ नै बुईपा पुगेको छ । तरुण दलका संयोजक सुनिलमाथि कुटपिट गर्नमा संलग्नलाई पक्राउ गर्नुपर्ने मागमा कांग्रेस कार्याकर्ताले बुईपा प्रहरीचौकी अगाडि नाराजुलुस गर्दै घेराउ गरिरहेका छन् ।

बुईपा जानेक्रममा कांग्रेस टोलीले दिक्तेल फर्कदैगरेका एमाले उपसचिव आचार्य, युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, युवा संघका सगरमाथा अञ्चल इज्चार्ज दिलचक्र राई लगायतको टोलीलाई बुईपाको आहालेचौंरमा रोकेर एमालेको झण्डा थुतेर जलाइदिएको विज्ञाप्तीमा उल्लेख छ । प्रत्यक्षदर्शीका अनुशार बुईपा जानेक्रममा नुनथला प्रहरीले रोक्ने प्रयास गर्दा कांग्रेस नेताले असईमाथि दुव्र्यबहार गरेका हुन् । कांग्रेस सभापति श्रेष्ठले भने पार्टीको कामको सिलसिलामा बिजयखर्क जान लागेका आफ्ना कार्यकर्ताले बोकेका झण्डा च्यातेर फालेर उल्टै कुटपिट गरेकाले विवाद सुरु भएको बताएका छन् ।

‘एमालेको कार्यक्रम छेउबाट झण्डा बोकेका कांग्रेस कार्यकर्ता ओहोरदोहोर गरेको’ विषयमा सुरु भएको बिवादले उग्र रुप लिने सम्भावना बढेपछि प्रशासनले शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली शुक्रबार नै घट्नास्थलमा खटाइसकिएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताए । बिवादलाई शान्त बनाउनका लागि राती नै डिएसपी प्रधान पनि बुईपा पुगेका छन् ।