रामधन राई/खोटाङ,
मंसिर–२६ । खोटाङस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने कार्यलाई तीब्र वनाईएको छ । सुक्खा क्षेत्र हलेसीमा पर्ने महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई लक्षित गरेर दूधकोसीको पानीलाई लिफ्ट गरेर गाउँमा निकाल्ने काम तीब्र वनाईएको हो ।
करिब २० हजार उपभोक्ता रहेको उक्त क्षेत्रमा नदीको पानी तान्नका लागि सडक निर्माण, विद्युत विस्तार र वितरण केन्द्रको ट्याङ्कीका लागि खाल्डो खन्ने काम पूरा भएको हलेसी महादेवस्थान खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताउनुभयो । महादेवस्थान, दुर्छिम, मङ्गलटार र बडहरेका लागि दूधकोसीको महादेवबेँसी तथा च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताका लागि दूधकोसीकै पिप्लेबाट पानी गरी उच्च स्थानवाट वितरण गरिने छ ।

मुख्य वितरण केन्द्र रहने हलेसीको काभ्रे र अर्को मुख्य वितरण केन्द्र रहने डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणका लागि खाल्डो खन्ने काम सम्पन्न गरिएको समितिले जनाएको छ । विद्युतमार्फत सल्लेको महादेवबेँसीबाट तानिने पानीलाई १ हजार ७ सय ५८ मिटरको उचाईमा पर्ने हलेसीको काभ्रेमा जम्मा गरेर वितरण गरिने छन् ।

यस्तै, भुम्जुडाँडामा निर्माण गरिने ट्याङ्कीबाट च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्तामाझ पानी पु¥याइने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका समितिका अध्यक्ष राईले जानकारी दिनुभयो । पानीको श्रोत नभएको, भएको श्रोत सुक्दै गएको र अन्यत्रबाट ल्याउने सम्भावना कम भएका कारण उक्त क्षेत्रमा नदीकै पानी निकाल्ने प्रयास गरिएको हो ।

नदीको पानी गाउँमा निकाल्न खानेपानी तथा ढल निकास विभाग सुख्खाग्रस्त क्षेत्र खानेपानी आयोजनाको टोलीले डिटेल सर्भेक्षण गरेको थियो ।

लिफ्टिङको मुख्य लाईनका लागि महादेव खिम्ती कन्ट्रक्शन र वितरणका लागि लामा कन्ट्रक्शन र सगरमाथा कन्ट्रक्शन प्रा.लि.जेभीले जिम्मा लिएको छ । करिब एक अरब रुपैंयाँको लगानीमा सम्पन्न हुने उक्त आयोजना तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । उक्त योजना सम्पन्न भए पश्चात हलेसी क्षेत्रमा पर्याप्त मात्रामा पानीको आपूर्ति हुने जनाईएको छ ।