बालिकामाथि यौन दुर्व्यवहार अाराेपी असई प्रहरी नियन्त्रणमा

खोटाङ २५ मंसिर । खोटाङमा एक बालिकामाथि यौन दुर्व्यवहारको आरोप लागेका असई प्रहरी नियन्त्रणमा आएका छन् ।
जालपास्थित प्रहरी चौकीका असई रमेशकुमार बस्नेत बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि प्रहरी कस्टडीमा आएका हुन् ।
खोटाङका डिएसपी राजकुमार केसीले उनको विरुद्ध दर्खास्त पर्न साथ नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हाम्रोखोटाङ डटकमसँग बताए । ‘पीडितकी आमाले हिजो (सोमबार) जाहेरी दिनु भएको थियो, लगत्तै हामीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’ उनले भने । उनी पक्राउ परे लगत्तै स्वतः बर्खास्तीमा परेका छन् । उनको आरोप पुष्टि हुन नसकेको खण्डमा भने उनी काममा फर्कन सक्छन् ।
गत १८ गते दिउँसो भएको यौन दुर्व्यवहार सम्बन्धी घटनाको मुद्धा सोमबार ‘बाल यौन दुरुपयोग’ अन्तर्गत दर्ता भएको थियो ।
आफन्तकोमा हिडेकी १४ वर्षिया बालिकामाथि असई बस्नेतले एकान्त स्थानमा लगेर यौनजन्य क्रियाकलाप गरेका थिए । उनले बालिकालाई मोटरसाइकलमा लिफ्ट दिएर लोचा खोलामा पुगेपछि बाइक तातिएको बहाना बनाएर बालिकामाथि त्यस्तो हर्कत गरेको पीडित पक्षको भनाई छ ।
देशमा बलात्कार तथा हिंसा बढिरहँदा खोटाङमा भने प्रहरी अधिकृतद्धारा नै हिंसा सार्वजनिक भएको हो ।