खोटाङमा प्रहरीका असईद्धारा नै बालिकामाथि यौन दुर्व्यवहार

खोटाङ २५ मंसिर । जनताको सुरक्षा दिने प्रहरीबाट नै खोटाङमा एक बालिकामाथि यौन दुर्व्यवहार भएको छ । जालपास्थित प्रहरी चौकीका असई रमेशकुमार बस्नेतले एक बालिकामाथि यौन दुर्व्यवहार गरेका हुन् । गत १८ गते दिउँसो भएको यौन दुर्व्यवहार सम्बन्धी घटनाको मुद्धा सोमबार ‘बाल यौन दुरुपयोग’ अन्तर्गत दर्ता भएको छ । खोटाङका डिएसपी राजकुमार केसीले पीडितकी आमाले जाहेरी दिएको जानकारी दिँदै अनुसन्धान प्रक्रिया अघि बढीसकेको बताए ।

आफन्तकोमा हिडेकी १४ वर्षिया बालिकामाथि असई बस्नेतले एकान्त स्थानमा लगेर यौनजन्य क्रियाकलाप गरेका थिए । उनले बालिकालाई मोटरसाइकलमा लिफ्ट दिएर लोचा खोलामा पुगेपछि बाइक तातिएको बहाना बनाएर बालिकामाथि त्यस्तो हर्कत गरेको पीडित पक्षको भनाई छ ।

देशमा बलात्कार तथा हिंसा बढिरहँदा खोटाङमा भने प्रहरी अधिकृतद्धारा नै हिंसा सार्वजनिक भएको हो ।