रामधन राई/खोटाङ
बैशाख २० । चामलको दुई वटा सेतो बोरालाई जोडेर बनाईएको चार्ट । बायाँतर्फ एउटा ढल्न लागेको बृक्ष र उसैगरी ढल्न लागेका बालक र युवाको सांकेतिक चित्र । दायाँ पट्टी भने संकेत र तुलना ।
चानचुन ५० रुपैंयाँ पर्ने बोराको चित्रमा देशकै भाग्य र भबिश्य निर्माण गर्न सक्षम सयौं जनशक्ति तयार गर्ने बिद्यालयको दयनीय बर्तमान अवस्था देखाउन खोजिएको छ । बृक्षचित्र देखाउँदै ब्यवस्थापन समितिका अध्यक्ष जेपी राई बर्णन गर्छन् –‘बिद्यार्थी–फूल÷फल, बिद्यालय–बृक्ष, शिक्षक–माली, सरकार–सिँचाईं÷मल, श्रोतकेन्द्र–साँघु वा पुल, जिल्ला शिक्षा कार्यालय –प्रकाश ।’ अन्य दुई जनाको सहयोगमा उत्साह र फुर्तिसाथ राई प्रस्तुत गर्छन्–‘ समिति–हेरालु, मौसम–नीतिनियम, हावा–प्राण ।’ अन्नपुर्ण माबि दोर्पाका समग्र अवस्था देखिने चित्र अध्यक्ष राई स्वयमले निर्माण गरेका हुन् ।
अन्नपुर्ण माबि साबिकको दोर्पा चिउरीडाँडा गाबिस–८ तथा हालको रुपाकोट मझुवागढी नगरपालिका ८ मा अवस्थित छ । सदरमुकाम नजिकै र नगरपालिकाभित्रै परे पनि कुनै पनि मोबाईल फोनको नेटवर्कले काम नगर्ने भुगोलमा भएको बिद्यालयमा जिल्लाका शिक्षा सम्बद्घ ब्यक्तित्व तथा हाकिमहरु स्वस्फुर्त रुपमा उतिसारो पुग्दैनन् । बिभिन्न अवसरमा निमन्त्रणा गरिएका शैक्षिक संस्था सम्बद्घ ब्यक्तित्व तथा शिक्षाप्रेमी पुगेको समयमा भने बिद्यालयको बिकासका लागि सहयोगको अनुरोध गर्दै बर्तमान अवस्था र भाबी योजनासहित आफ्नो प्रस्तुति राख्न छुटाउँदैनन् । बिद्यालयको शैक्षिक उपलब्धी सन्तोषजनक रहेको जनाउँदै बिद्यालयले ब्यवस्थापन सुधारमा अनेक कोशिष र अभ्यास गर्दागर्दै पनि सम्बन्धित निकायबाट भने बेवास्ता झैं गरिएको बिद्यालयको गुनासो छ ।
२०२४ सालमा स्थापना भएको अन्नपुर्ण प्राबिलाई स्थानीयकै अथक प्रयासमा २०५२ सालमा निमाबि र २०६२ सालदेखि माबि तह सञ्चालन गरिएको हो । ४ सयको हराहारीमा बिद्यार्थी संख्या रहेको माबि एक जना प्राबिको स्थायी दरबन्दीले चलेका छन् । ४ बर्ष अघिदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको बिद्यालयले अनेक पटक स्थायी शिक्षक दरबन्दी माग गरे पनि राज्यले आँखै नलगाएको अध्यक्ष राईको भनाई छ । बिद्यालयले ४ पटक फरक फरक जिल्ला शिक्षा अधिकारीलाई निमन्त्रणा गरी बिद्यालयको अवस्थाको बारेमा जनाएको बताईएको छ । हाल अन्नपुर्ण माबिमा प्राबि तहका एक स्थायी, दुई अस्थायी र दुई राहत, निमाबिमा दुई राहत र माबिमा तीन राहत दरबन्दी रहेका छन् ।
बिद्यालय सञ्चालनको लागि स्थानीय शिक्षाप्रेमीहरुको पहलमा ३० लाख रुपैंयाँ बढीको कोष खडा गरिएको छ । उक्त कोषबाट आएको ब्याजबाट तलब दिने गरी दुई जना आई.एस.सी., एक जना आई.एड. र एक जना एस.एल.सी. उतीर्ण नीजि शिक्षक राखिएको छ ।
गत भदौमा भब्य कार्यक्रमको साथ स्वर्ण जयन्ती मनाईसकेको माबिको शैक्षिक सुधारका लागि बिभिन्न समयमा अन्र्तक्रिया लगायतका शैक्षिक कार्यक्रमहरु आयोजना गरिरहेको प्रधानाध्यापक रेखादेबी बस्नेत राउतले जानकारी दिनुभयो ।
बिद्यालयले हालै सम्पन्न गरेको एक शैक्षिक कार्यक्रममा जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपाल समक्ष अतिरिक्त शिक्षकको प्रस्ताब गरेको छ । बिद्यालयले खेल शिक्षक, संगीत शिक्षक, कृषि शिक्षक र कलासँग पोख्त शिक्षकको प्रस्ताब गरेका हुन् । बिद्यालयले आफ्नै बिद्यालयमा आयोजना गरेको स्रोत केन्द्र स्तरीय शैक्षिक अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपालले भएका सम्बन्धित शिक्षकलाई परिचालन गर्न प्रयास गर्ने बताउनुभयो ।