सांसद भट्टराईको गृहलाई पत्र – ‘व्यवसायी नामका कलङ्कितलाई कारबाही गरियोस्’

काठमाडौं/मंसिर । व्यवस्थापिका संसद अन्तर्गतको प्रतिनिधिसभा सदस्य विशाल भट्टराई हत्तपत्त रिसाउन्नन् । कोहीप्रति कटाक्ष पनि गरि जाँदैनन् । अक्सरका रुपमा उनको रिस पोखिने गर्दछ । पछिल्लो पटक विकास निर्माणको ठेक्का लिएर वर्षौसम्म निर्माण नगर्ने ठेकेदारमाथि उनको रिस पोखिएको छ ।

सांसद भट्टराईले वर्षौ अघिदेखि ठेक्का लिएर निर्माण नगर्ने गौरीपार्वती निर्माण सेवाका मालिक र गजुरमुखी हरिहरी जे.भीका मालिकलाई कालोसुचीमा राखेर कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा निवदेन दर्ता गरेका छन् । गौरीपार्वतीले फोक्सीङटार पुलको ठेक्का लिएको छ भने गजुरमुखीले साप्सुखोलाको पुलको ठेक्का लिएको छ । दुवै कम्पनीले समयावधी सकिँदा पनि काम सक्न त हैन प्रगति देखाउन समेत सकेका छैनन् । भट्टराईले दुवै ठेकेदारसँग यसअघि पटक पटक छिटो बनाउन आग्रह गर्दै आएका थिए । उनको आग्रह नटेरे पछि आजित बनेका सांसद भट्टराई अन्ततः ठेकेदारलाई कालोसुचीमा राखेर कारबाही नगरी नहुने निष्कर्षमा पुगेका छन् ।

गृह मन्त्रालयमा हालेको निवेदनमा लेखिएको छ– ‘म्याद सकिँदा पनि पुल निर्माणको कामका विलम्ब गरी संसद, सरकार, कानुन, जनप्रतिनिधि र जनताको आवाजलाई पुरापुर बेवास्ता गरी निर्माणमा अतिचार बिलम्ब गर्नेहरुलाई कारबाही नगर्ने हो भने मुलुक समृद्ध बनाउने हाम्रो सपना निर्माण व्यवसायीका नाममा कलंकित बनेका केही व्यवासायीका कारण चकनाचुर हुने देखिन्छ । अतः यिनलाई कारबाही गर्न म माननीय मन्त्री ज्यू समक्ष अनुरोध गर्दछु ।’

सांसद भट्टराईले यसअघि जनप्रतिनिधिको हैसियतले पटक पटक सडक विभागमा र सम्बन्धित व्यवसायीसँग पुल निर्माणको काम समयमै सम्पन्न गर्न छलफल र दबाब समेत दिँदै आएको र सार्वभौम संसदमा समेत उठाउँदै आएको समेत स्मरण गरेका छन् ।