खोटाङ, जेठ ५– खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक वटा एम्बुलेन्स प्रदान गरेको छ । अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने दुरदराजका सर्वसाधारणको बाध्यता अन्त्यका लागि प्रबासबाट एम्बूलेन्स प्रदान गरिएको समाजले जनाएको छ । 
कतार, मलेसिया, साउदी, कोरिया लगायतका देशमा कार्यरत युवाबाट संकलन गरेको १८ लाख रकमबाट एम्बूलेन्स खरिद गरेर उपलव्ध गराइएको खोटाङ सेवा समाज दोहा कतारका सचिव पर्शुराम श्रेष्ठले बताउनुभयो ।

खोटाङ सेवा समाजले शुक्रबार दिक्तेलस्थित श्रेष्ठ होटलमा कार्यक्रम गरेर खोटाङ एकता सेवा समाजलाई एम्बूलेन्स हस्तान्तरण गरेको छ । हस्तान्तरण लगत्तै प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले एम्बूलेन्स उदघाटन गर्नु भएको थियो ।

यसअघि, खोटाङ सेवा समाज यूकेले जिल्लालाई चैत्र २६ गते एकैसाथ ७ वटा एम्बूलेन्स उपलब्ध गराएको थियो । दुर्गम गाउँमा बसोबास गर्ने निम्न आर्थिकस्तरका बिरामीलाई आकस्मिक उपचारका लागि अस्पतालसम्म पु¥याउने व्यवस्थाका लागि एम्बूलेन्स पठाइएको खोटाङ सेवा समाज दोहा कतारका उपाध्यक्ष रुद्र शर्माले बताउनुभयो ।