खोटाङ, १७ जेठ । स्थानीय तहको दोश्रो निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ ।
गाउँ–गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक परिचलान गरिएको भएपनि अपेक्षितरुपमा प्रभावकारी बन्न नसकेको पाइएको हो ।
जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको भएपनि जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको नमूना मतदान कार्यक्रममा ११ मत बदर भएको छ । ४३ जनाले नमूना मतदानमा सहभागिता जनाएकामा ११ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।
नमूना मतदानमा सहभागी ज्येष्ठ नागरिक मतपत्र लामो भएका कारण मत हाल्नेक्रममा अलमलमा परेका थिए । अलमलमा परेका सहभागीले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रतिनिधी, दलका प्रतिनिधि, पर्यवेक्षक लगायतसँग जानकारी लिएपछि मात्र नमूना मतदानमा सहभागी भएका थिए ।
कतिपय मतदाताले मत हाल्ने विधिकै विषयमा जानकारी नपाएको पाइएको छ । गोप्य कोठामा गएर स्वस्तिक चिह्न मसीमा चोब्न नजान्दा मत हालेको ठाउँमा स्वस्तिक चिह्न नदेखिँदा दोहोर्याएर छाप हाल्ने गरेको देखिएको छ ।
कतिपय मतपत्र पट्याएर मतदान पेटीकामा खसाउनेक्रममा समेत अलमलमा परेका थिए । नमूना मतदानमा देखिएको अलमलले जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको टिप्पणी गरिएको छ ।
जिल्लामा गत वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम वैशाख १२ गतेदेखि स्थगित गरेर पुनः जेठ ५ गतेदेखि सुचारु गरिएको छ । १७३ मतदान केन्द्र रहेको जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १७५ जना मतदाता शिक्षा स्वयम्सेवक खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।