खोटाङ २५ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा स्थानीयको घरमा पार्टीको झण्डा राखेको विषयमा भएको कांग्रेस र एमालेको बिवाद सहमतीमा टुंगिएको छ ।

मंगलबार एमालेका नेता तथा कार्यकर्ताले साविकको डिकुवा–७ का स्थानीयको घरमा राखेको झण्डा कांग्रेस कार्याकर्ताले झिकेर कांग्रेसकै झण्डा राखेपछि सुरु भएको बिवाद सहमतीमा टुंग्याइएको हो । बुधबार डिकुवामा भएको छलफलमा कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताले आ–आफ्नो कमजोरीलाई स्वीकार गर्दै आपसी बिवादलाई सहमतीमा टुंग्याएको हो ।

एमाले कार्यकर्ता मानकुमारी राई, घनश्याम राई, जितेन राई, प्रदीप राई लगायतले राखेको झण्डा कांग्रेसका देबेन्द्र राई, चित्र खत्री लगायतको टोलीले घरमुलीलाई हटाउन लगाएर आफ्नो झण्डा राखेको एमालेले जनाएको छ ।

बिवादका बेलामा संयमता अपनाउनुको सट्टा नेता नै शक्ती प्रदर्शनमा उत्रिएको स्थानीयको भनाई छ । झण्डा राखेको विषयमा भएको बिवाद सहमतीमा टुंगिए पनि बुधबार सोही घटनालाई लिएर झगडा गर्ने कांग्रेस र एमालेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।