खोटाङ, १ जेठ । स्थानीय शान्ति समितिले द्धन्द्धकालमा आफन्त गुमाएका खोटाङका पच्चीस परिवारलाई बुधबार सम्मान गरेको छ । ‘द्धन्द्ध पीडितलाई पुनःनिर्माण तथा सम्मान कार्यक्रम र गाविसस्तरीय स्थानीय शान्ति समितिको संयोजकलाई द्धन्द्ध व्यवस्थापन, मेलमिलाप, विवाद समाधान, द्धन्द्धका कारण र समाधानका उपायहरु’ विषयक कार्यक्रमको अवसर पारेर द्धन्द्ध पीडित परिवारलाई सम्मान गरिएको हो ।
द्धन्द्धकाक्रममा आफन्त गुमाएका परिवारको सहानुभुती र आत्मसम्मानका लागि द्धन्द्ध पीडित परिवारलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको स्थानीय शान्ति समितिका संयोजक नरेशकुमार श्रेष्ठले बताउनुभयो । द्धन्द्धकाक्रमा ज्यान गुमाउने पहिलो खोटाङ्गे रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका ठूलकुमार श्रेष्ठकी कान्छी छोरी क्रान्ति श्रेष्ठसहित पच्चीस परिवारलाई सम्मान गरिएको हो ।
तत्कालिन नेकपा माओबादी नेता श्रेष्ठको २०५५ साल पुस २७ गते हत्या भएको थियो । यस्तै, द्धन्द्धकाक्रममा मारिएका रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका दिलकाजी कार्की र उनकी श्रीमती ईन्दिरा कार्कीको आफन्तलाई पनि सम्मान गरिएको छ ।
दिक्तेलस्थित समिक्षालय हलमा आयोजना गरिएको कार्यक्रममा दिलकाजीकी बहिनी एवम् पूर्वसभाषद समिता कार्की (अस्मिता) ले सम्मान ग्रहण गर्नुभयो । शान्ति समितिले द्धन्द्धकाक्रममा ज्यान गुमाएका रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका सुमन रम्तेल, केशरी ढकाल, बालाराम ढुंगाना, कला राई, जीवन राई, एकनाथ खनाल, रुपाकोट मझुवागढी नगरपालिका–१ का टंकनाथ आचार्य, जय आचार्य, रुपाकोट मझुवागढी नगरपालिका–५ का मुक्सन किरात, रुपाकोट मझुवागढी नगरपालिका–९ का सिर्जना तोलाङ्गे, साकेला गाउँपालिका–२ रतन्छाका मनकुमार राई, रामकुमार राई, हंसराज राई, गोबिन्द राई, राजेन्द्र राई, नबिन राई, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका भलकाजी बन लगायतका परिवारलाई सम्मान गरिएको हो ।