खोटाङ, १ असार । जिल्लाका भूकम्पपीडित किसानलाई कृषि विकास कार्यालय खोटाङले आधुनिक कृषि औजार÷उपकरण वितरण सुरु गरेको छ ।
कृषि व्यवसायको आधुनिकीकरणका लागि भूकम्पपीडित कृषकलाई जमिन जोत्ने हाते ट्याक्टर, धान र गहुँ झार्ने थ्रेसर मेसिन, मकै छोड्याउने कर्न सेलर, जिरो इनर्जीको पानी माथिल्लो भागमा फाल्ने पापा पम्प, थोपा सिँचाई गर्ने ड्रिम इरिगेसन सेट, बीउ तथा अन्न भण्डारण गर्ने हर्मेटिक व्याग लगायतका कृषि औजार÷उपकरण वितरण सुरु गरेको हो ।
रातो कार्ड पाएका भूकम्पपीडितलाई राष्ट्रिय पुनःनिर्माण कोषको एक करोड ४९ लाखको कृषि उपकरण जेठ दोश्रो सातादेखि वितरण सुरु गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि बिकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउनुभयो । “हर्मेटिक ब्याग सतप्रतिशत अनुदानमा तथा अन्य उपकरण ९० प्रतिशत अनुदानमा वितरण भइरहेको छ ।” उहाँले भन्नुभयो, “अधिकांश उपकरणमा दश प्रतिशत मात्र बेहोर्नुपर्ने भएपछि कार्यालयमा उपकरण लिन आउने किसानको भीड लागेको छ ।”
भूकम्पपीडित र भूकम्पपीडितको बाहुल्यता भएको क्षेत्रलाई प्राथमिकतामा राखेर कृषि उपकरण भइरहेको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताउनुभयो । आधुनिक कृषि औजार वितरणका लागि कृषिले गत पुसमा आवेदन खुलाएको थियो ।
प्रतिवटा ८८ हजार पर्ने १७ वटा हाते ट्याक्टरमध्ये हालसम्म ७ वटा हाते ट्याक्टर किसानले लगिसकेका छन् । प्रति गोटा एक लाख पर्ने २१ वटा थ्रेसर मेसिनमध्ये हालसम्म ४ वटा मेसिन किसानले बुझिसकेका छन् ।
प्रतिवटा १५ हजार पर्ने ४५ वटा कर्नसेलरमध्ये ९ वटा वितरण भइसकेको कार्यालयले जनाएको छ । भूकम्पपीडित किसानलाई कृषिमार्फत प्रतिवटा ३० हजार पर्ने ४५ वटा ड्रिम इरिगेसन सेट, प्रतिवटा २८८ रुपैयाँ पर्ने ९ हजार हर्मेटिक व्याग, प्रतिवटा ५ लाख पर्ने ६ सेट पापा पम्प वितरण गर्ने तयारी भइरहेको छ ।
ठूलो परिमाणको भएका कारण हर्मेटिक ब्यागको भने टेण्डर आव्हान गरिएको घिमिरेले जानकारी दिनुभयो । यस्तै, प्रतिवटा ५५ हजारको ६० वटा प्लाष्टिक पोखरी निर्माणका लागि सम्झौता भइरहेको छ ।
पापा पम्प सेटको पनि वितरणका लागि किसानसँग सम्झौता भइरहेको छ । कृषि उपकरण असारभित्र वितरण गरिसक्ने कृषि कार्यालयलले जनाएको छ ।
सबैभन्दा बढि हाते ट्याक्टलका लागि किसानको आवेदन परेको थियो । जमिन जोत्न, मकै छर्न, जेनेरेटरकारुपमा उपयोग गर्न, पानी पम्म गर्न लगायतमा उपयोग हुने भएकाले हाते ट्याक्टरप्रतिको माग बढेको घिमिरेले बताउनुभयो ।