खोटाङ– स्थानीय तहको निर्वाचनका लागि खोटाङमा २० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। नगरपालिकाको मेयर, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यमा दर्जनौं स्वतन्त्र उम्मेदवारी परेको हो । असार १४ गतेको स्थानीय तहको निर्वाचनका लागि १ हजार ५६७ जनाको मनोनयन दर्ता भएकामध्ये २० जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ।

आचार्यले नेकपा (क्रान्तीकारी माओबादी)को भातृ संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नामबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
स्वतन्त्र उम्मेदवार दर्ता गर्नेमा अधिकांश पार्टीबाट असन्तुष्ट बनेका नेता तथा कार्यकर्ता छन् । पार्टीसँग असन्तुष्ट नेता तथा कार्यकर्ताले आफ्नै अधिकारिक उम्मेद्वार विरुद्ध बागी उम्मेद्वारी दिएका हुन्।

जिल्लाको दुई नगरपालिका, आठ गाउँपालिकाको ६९ वडामा चयन हुने ४१५ जना जनप्रतिनिधिका लागि १ हजार ५६७ जनाको मनोनयन दर्ता भएको हो। रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा झमप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन्। आचार्यले नेकपा (क्रान्तीकारी माओबादी)को भातृ संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नामबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

हलेसी तुवाचुङ नगरपालिकामा मेयरमा भोजराज बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बस्नेतले पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालकैतर्फबाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन्। केपीलासगढी गाउँपालिका अध्यक्षमा हरिचन्द्र राई र दिप्रुङ गाउँपालिकाको अध्यक्षमा तिर्थ राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा रुद्रप्रसाद रेग्मी र उपाध्यक्षमा सरिता राईको मनोनयन दर्ता भएको छ। लामीडाँडा गाउँपालिकाको उपाध्यक्षमा रमेश अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।

यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको वडाध्यक्षमा नन्दप्रसाद घिमिरे, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडाध्यक्षमा उद्धव राई, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अध्यक्षमा ढाकप्रसाद लुइँटेल र भीमप्रसाद लुइँटेल, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडा सदस्यमा अञ्चलकुमार राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । लुईटेलद्धय दाजुभाई हुन् । हलेसी तुवाचुङ नगरपालिका–७ को वडाध्यक्षमा थामबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको वडाध्यक्षमा राजकुमार राई र हलेसी तुवाचुङ नगरपालिका–७ को वडा सदस्यमा रमेश बस्नेतको उम्मेदवारी दिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुशार केपीलासगढी गाउँपालिका–१ फेदीको वडाध्यक्षमा देवान राई र केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको सदस्यमा भीमबहादुर तामाङ, साकेला गाउँपालिका–४ मात्तिमको वडाध्यक्षमा रामकृष्ण खड्का, दिप्रुङ गाउँपालिका–२ डाँडागाउँको वडाध्यक्षमा इवराज गुरुङ र जन्तेढुंगा गाउँपालिका–२ बोपुङको वडाध्यक्षमा दिलबहादुर राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। – नागरिकन्यूजबाट